काठमाडौँ ।
नेपालमा महिला मृत्युदरको प्रमुख कारण बनेको पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) नियन्त्रणका लागि सरकारले आजदेखि देशव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु गरेको छ। काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानीय तहले आफ्नो अनुकूलता अनुसार आजैदेखि वा आगामी केही दिनभित्र यो खोप कार्यक्रम सञ्चालन गर्दैछन्।
ललितपुरको महालक्ष्मी नगरपालिकाले आजै लुभुस्थित महालक्ष्मी माध्यमिक विद्यालयबाट अभियानको औपचारिक शुभारम्भ गरेको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. अभियान गौतमको उपस्थितिमा कार्यक्रम सुरु भएको हो। यता, ललितपुर महानगरपालिकामा भोलि (सोमबार) देखि र काठमाडौँ महानगरपालिकामा माघ २७ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुने तयारी छ। काठमाडौँ महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीका अनुसार यसपटक महानगरभित्र ९ हजार ११३ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।
नेपालको सन्दर्भमा पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये दोस्रो स्थानमा छ भने क्यान्सरका कारण हुने मृत्युमा यो पहिलो नम्बरमा पर्छ। तथ्याङ्क अनुसार नेपालमा औसतमा हरेक दिन ६ जना महिलामा यो क्यान्सरको संक्रमण पुष्टि हुन्छ भने ४ जनाको ज्यान जाने गरेको छ। यो क्यान्सर मुख्यतया एचपीभी भाइरसको संक्रमणबाट हुन्छ। यसका २०० भन्दा बढी प्रजातिमध्ये १६ र १८ नम्बरका प्रजातिहरू सबैभन्दा घातक मानिन्छन्।
नेपालमा हुने कुल पाठेघरको मुखको क्यान्सरमध्ये ८० प्रतिशत यही १६ र १८ प्रजातिका कारण हुने देखिएको छ। यसपटक नियमित खोप कार्यक्रम अन्तर्गत मुख्यतया कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरिएको छ। यसबाहेक, गत वर्षको अभियानमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पनि यसपटक ‘अन्तिम मौका’ का रूपमा खोप दिइने खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
चीनमा उत्पादित ‘सेकोलिन’ ब्राण्डको यो खोप एक मात्रा लगाएपछि पूर्ण मानिन्छ। पाठेघरको मुखको क्यान्सर र भाइरस बीचको सम्बन्ध पत्ता लगाउन दशकौँको वैज्ञानिक अनुसन्धान लागेको थियो। सन् १९७० को दशकमा जर्मन भाइरोलोजिस्ट ह्याराल्ड जर हाउसेनले एचपीभी भाइरस नै यो क्यान्सरको मुख्य कारक भएको प्रस्ताव गरेका थिए, जसका लागि उनले सन् २००८ मा चिकित्साशास्त्रमा नोबेल पुरस्कार समेत पाए।
विश्वमा पहिलो पटक सन् २००६ मा एचपीभी खोपलाई प्रयोगको अनुमति दिइएको थियो। त्यसयता विश्वका १०० भन्दा बढी देशले यसलाई आफ्नो राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिसकेका छन्। नेपालमा यसको इतिहास हेर्ने हो भने सन् २०१६ मा सरकारले चितवन र कास्की जिल्लामा ‘पाइलट प्रोजेक्ट’ का रूपमा पहिलो पटक यो खोप भित्र्याएको थियो।
सन् २०२३ मा सरकारले ठूलो परिमाणमा खोप खरिद गरी सातै प्रदेशका मुख्य अस्पतालहरूबाट १४ वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरी विशेष अभियान चलाएको थियो। अहिले सन् २०२६ सम्म आइपुग्दा सरकारले यसलाई नियमित खोप तालिकामा नै समावेश गरी विद्यालय तहसम्म पुर्याएको छ। विज्ञहरूका अनुसार यो खोप यौन सम्पर्क सुरु हुनुभन्दा अगावै (९ देखि १४ वर्षको उमेरमा) लगाउँदा सबैभन्दा प्रभावकारी हुन्छ।
यो खोप पूर्ण सुरक्षित रहेको र यसले भविष्यमा हुने क्यान्सरको जोखिमलाई ९० प्रतिशतसम्म कम गर्ने दाबी गरिएको छ। सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्यको समस्याका रूपमा निवारण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्यलाई पछ्याउँदै यो कदम चालेको हो। सबै अभिभावकहरूलाई आफ्ना छोरीहरूलाई नजिकैको खोप केन्द्र वा विद्यालयमा सम्पर्क गरी ढुक्क भएर खोप लगाउन स्वास्थ्य अधिकारीहरूले अपिल गरेका छन्।











प्रतिक्रिया