हिसान र टियु–लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रबीच समझदारी पत्र हस्ताक्षर


काठमाडौँ

उच्च शिक्षालय तथा माध्यमिक सङ्घ नेपाल (हिसान) र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र (टियु–लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र) बीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारी पत्र (एम.ओ.यु.) मा हस्ताक्षर सम्पन्न भएको छ ।

वि.सं. २०८२ साल माघ १६ गते, काठमाडौंस्थित क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सी.सी.आर.सी.) मा आयोजित रक्तदान तथा एम.ओ.यु. हस्ताक्षर कार्यक्रममा केन्द्रका अध्यक्ष डा. राजेन्द्र गिरि र हिसानका अध्यक्ष श्री युवराज शर्मा ले हस्ताक्षर गर्नुभएको हो ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा हिसानको तर्फबाट अध्यक्ष युवराज शर्मा, उपाध्यक्ष हरिचन्द्र लामिछाने, महासचिव रामहरि सिलवाललगायतका पदाधिकारीहरू उपस्थित थिए । केन्द्रको तर्फबाट अध्यक्ष डा. राजेन्द्र गिरि, पूर्वअध्यक्ष रुद्रहरि ज्ञवाली, कार्यसमितिसदस्य किशोर भट्टराई, मेडिकल डाइरेक्टर डा. विपिन नेपाल, तथा कार्यवाहक जनरल म्यानेजर श्री कोमल अधिकारी उपस्थित थिए ।

समझदारी पत्रका मुख्य उद्देश्यहरूमा हिसानमा आबद्ध शैक्षिक संस्थाहरूमा नियमित, योजनाबद्ध र दिगो रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, रक्तसञ्चारसम्बन्धी सचेतनामूलक तथा जागरण कार्यक्रम आयोजना गर्ने, र विद्यार्थीहरूलाई स्वयंसेवी सामाजिक कार्य तथा अन–द–जव ट्रेनिङ (ओ.जे.टी.) कार्यक्रममा समावेश गर्ने विषयहरू समेटिएका छन् ।

यसै गरी, रक्तदान कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, सामग्री, रक्त सङ्कलन, परीक्षण, ढुवानी तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी केन्द्रले लिने व्यवस्था पनि समझदारी पत्रमा उल्लेख गरिएको छ ।

समझदारी पत्र हस्ताक्षर सम्पन्न भएकै दिन, सी.सी.आर.सी. कलेज, बालकुमारी, काठमाडौं मा पहिलो संयुक्त रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रममा ९१ जना रक्तदाताहरूले स्वैच्छिक रूपमा रक्तदान गर्नुभएको थियो । कलेजका विद्यार्थी क्लबहरूले स्थानीय समुदायलाई समेत समेट्दै, रक्तदानको अघिल्लो दिन र्यालीमार्फत आह्वान गरेका थिए । कार्यक्रमको सम्पूर्ण समन्वय कलेजका उप–प्राचार्य श्री दीपक उपाध्याय ले गर्नुभएको थियो ।

समझदारी पत्रको अवधि तीन वर्ष रहने व्यवस्था गरिएको छ । आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, अनुसन्धान, आर्थिक सहयोग तथा सामाजिक क्षेत्रमा समेत सहकार्य विस्तार गर्दै सुरक्षित, नियमित र गुणस्तरीय रक्त आपूर्ति सुनिश्चित गर्ने दुवै संस्थाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमको अन्त्यमा सी.सी.आर.सी. कलेजका तर्फबाट उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै समझदारी पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको सफल आयोजना तथा प्रभावकारी सहकार्यका लागि त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले हिसान र सी.सी.आर.सी. कलेजप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।