कवि किरातीको ‘आदिम फूल’ सार्वजनिक


कविता लेखनका माध्यमबाट संकटमा पर्दै गएको नेपाली मौलिक संस्कृतिको उजागर गर्ने कवि विष्णुभक्त राई (विभरा किराती)को चौथो सिर्जनात्मक कृति ‘आदिम फूल’ एक भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर प्रकाशन गर्नुभएको कविता संग्रह ‘आदिम फूल’मा ३८ वटा फुटकर कविता समेटिएका छन् । नेपाली समाजमा भएका वर्गीय, जातीय, सांस्कृतिक एवम् राजनीतिक परिवेशलाई समेत समेटेर प्रकाशन गरिएको ‘आदिम फूल’ कविता संग्रह शनिवार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली केन्द्रीय विभाग कीर्तिपुरका वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले औपचारिक रूपमा लोकार्पण गर्नुभएको छ ।

वर्तमान नेपाली समाज आयातीत संस्कृतिको प्रभावका कारण हाम्रा मौलिक संस्कृतिमाथि जुन संकट निम्त्याएको छ यसप्रति चिन्ता र चासो व्यक्त गर्दै समाजलाई जगाउने कविता विभराको प्रस्तुत कृतिमा पाइने विचार प्राध्यापक गौतमले व्यक्त गर्नुभयो ।

कवि किराती अनावश्यक शब्दहरू नथुपारी सूत्रात्मक र सांकेतिक कविता लेख्न सक्षम र सरल शब्द एवं गहन भाव पस्कन सफल रहेको भन्दै उहाँले भन्नुभयो ‘साहित्यकार विभरा किरातीलाई यो आदिम फूल कविता संग्रहले एउटा उचाइमा पु¥याएको छ । आगामी दिनमा लेखन कलालाई निरन्तरता दिँदै अझ सशक्त साहित्य सिर्जन गर्न आग्रह गर्दछु ।’

पलायन हुँदै गएको रैथाने ज्ञान र संस्कृतिको जगेर्ना गर्न प्रेरित रहेको समालोचक एवं पूर्व सञ्चारकर्मी डा. हेम भण्डारीको ठम्याइ रहेको छ । प्रतिरोधी चेतनाका दृष्टिमा समालोचक भण्डारीले प्रस्तुत कृतिमा १६ पृष्ठको भूमिका लेख्दै कृतिमाथि समोलचनात्मक चेत प्रस्तुत गरेको भए पनि अब आम पाठकहरूले यसलाई ऐकिक समालोचना पद्दतिबाट विश्लेषण गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि डा. सुरेश हाचेकालीले किरातीका कवितामा विषयगत विविधता, राजनीतिक विकृति, सांस्कृतिक प्रतिरोधको विचार अभिव्यक्त भएको कुरा व्यक्त गर्नुभयो । कविताको संरचनात्मक एवं विषयगत समीक्षाका क्रममा हाचेकालीले किरातीका यस कृतिमा समाहित कवितामा प्रयुक्त मूल विषय एवं व्यक्त समग्र भाव र विचारको प्रस्तुति दिनुभएको थियो । कवि किरातीको कविता लेखनले बदलिँदै गएको नेपाली समाजलाई मौलिक संस्कृतितर्फ फर्काउने विचारसमेत उहाँले व्यक्त गर्नुभयो ।

शिक्षण पेसासँगै पाठ्यपुस्तक लेखन तथा साहित्य सिर्जनामा निरन्तर कलम चलाउँदै आउनुभएका विभरा किरातीयले यसअघि विभिन्न कृतिहरू बजारमा ल्याइसक्नुभएको छ । विष्णु श्रापितको नामबाट वि.सं. २०५० सालमा ‘सुनको फूल’ गीति संग्रह, वि.सं. २०६१ सालमा ‘ताराहरूको वस्तीमा’ कविता संग्रह, वि.सं. २०६६ सालमा ‘त्रिवेणी गीति एल्बम’ प्रकाशित भइसकेका छन् ।

नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर प्रकाशन गर्नुभएको प्रस्तुत कविता संग्रह ‘आदिम फूल’मा ३८ वटा फुटकर कविता समेटिएका छन् । खोटाङको बुइपामा जन्मिएर अस्ट्रेलियामा बसोवास गर्दै आउनुभएकी अप्सरा दालोमा विष्ट यस कृतिको प्रकाशक रहनुभएको छ ।

पवन प्रकृति अंग्रेजी सेकेन्डरी स्कुलको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ उत्तरकुमार राईले गर्नुभएको थियो । विद्यालयको नेपाली विभागले आयोजना गरेको उक्त कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भूवन घिमिरेले गर्नुभएको थियो भने कक्षा १० मा अध्ययनरत विद्यार्थी आशा बोहोराले संग्रहमा समेटिएको कविता वाचनसमेत गरेर कार्यक्रमलाई अझ रोचक बनाएकी थिइन् ।