चितवनमा विवाह भोजपछि ९३ जना बिरामी, ५० अझै अस्पतालमा उपचाररत


चितवन।

भरतपुर महानगरपालिका–४ धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाह भोज खाँदा ९३ जना बिरामी परेका छन् । गत २३ गते भएको भोजपछि उनीहरूमा ‘फुड पोइजनिङ’को लक्षण देखिएको हो ।

बिरामीमध्ये हाल ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार बिरामीहरूको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज तथा कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केही बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित निजामती कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा पनि भर्ना गरिएको छ ।

गम्भीर अवस्थामा रहेका दुई जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा सुधार आएपछि वार्डमा सारिएको प्रहरीले जनाएको छ । उपचाररत सबै बिरामीको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ ।

घटनापछि प्रहरीले चौतारी पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।