त्रियुगा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

0
Shares

उदयपुर ।

 “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ त्रियुगा नगरपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ ।

आइतबार त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख वसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

कार्यक्रममा स्वास्थ्य शाखाका उपप्रमुख उपेन्द्र कार्की ले त्रियुगा नगरपालिकाभित्र एक वर्षको अवधिमा खोप लगाउन छुटेका ४६ जना बालबालिकालाई खोपको दायरामा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्र ० देखि ५९ महिना उमेर समूहका ६ हजार ९ सय २२ जना बालबालिकालाई नियमित खोप लगाइएको छ ।

नगरप्रमुख बस्नेतले खोप कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगरपालिकाले थप सुविधा उपलब्ध गराउने घोषणा गर्नु भयो । उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

त्रियुगा नगरपालिका स्वास्थ्य शाखा, गाईघाट उदयपुरको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।