शमानीको प्रेरणादायी ‘फिगरिङ आउट’ यात्रा

डुल्दै साबुन बेच्ने पोडकास्टरको नेटवर्थ ११ मिलियन डलर

0
Shares

भारत इन्दौरको एउटा मध्यमवर्गीय परिवार बस्ने घरको साँघुरो कोठा, जहाँ एक किशोरलाई सबैले “अल्छी” र “काम नलाग्ने” भन्थे, त्यहाँबाट सुरु भएको एउटा यात्रा आज भारतको डिजिटल मिडियाको इतिहासमै एउटा स्वर्ण अक्षर बनेको छ । २९ जुलाई १९९७ मा जन्मिएका राज शमानीको बाल्यकाल सम्पन्नताले भरिएको थिएन । पढाइमा औसतभन्दा पनि कमजोर उनलाई भविष्यको कुनै निश्चित बाटो थाहा थिएन । तर, जब उनी १६ वर्षका भए, नियतिले उनलाई एउटा यस्तो मोडमा उभ्याइदियो, जहाँबाट उनीसँग दुईवटा मात्र विकल्प थिए । कि त परिस्थितिसँग हारेर पलायन हुने, कि त लडेर आफ्नो अस्तित्व बचाउने ।

बुबाको स्वास्थ्य बिग्रिएर पारिवारिक व्यापार ठप्प भएपछि घरमा छाक टार्नै मुस्किल प¥यो । त्यही चरम अभाव र संकटको गर्भबाट एउटा उद्यमीको जन्म भयो । राजले १० हजार रुपैयाँ ऋण लिएर युट्युबमा रसायन मिलाउने विधि सिक्दै आफ्नै घरमा डिशवासिङ साबुन बनाउन सुरु गरे । काँधमा साबुनको झोला बोकेर घर–घर पुग्दा धेरैले ढोका बन्द गरिदिए । कतिले होच्याए, तर उनले हार मानेनन् । त्यही सडकको हिलो र पसिनाले उनलाई व्यापारको त्यो कडा पाठ सिकायो, जुन कुनै पनि विजनेस स्कूलले सिकाउन सक्दैनथ्यो ।

अन्ततः उनले आफ्नो सानो प्रयासलाई ‘शमानी इन्डस्ट्रिज’ मार्फत अहिले २ सय करोडभन्दा बढीको टर्नओभर हुने सफल व्यवसायमा बदलेरै छोडे । व्यापारमा सफलता पाए पनि राजभित्र एउटा अर्कै तिर्खा थियो । मानिसका कथा सुन्ने र सुनाउने तिर्खा । उनलाई लाग्थ्यो कि संसारमा कोही पनि पूर्ण छैन र सबैजना आफ्नो जीवनमा केही न केही कुरा बुझ्ने प्रयास अर्थात् ‘फिगरिंग आउट’ गरिरहेका छन् । यही सोचका साथ सन् २०१८ मा उनले “फिगरिंग आउट विथ राज शामानी” नामक पोडकास्ट सुरु गरे । सुरुका दिनमा उनलाई सुन्ने कोही थिएन, तर उनले आफ्नो शैलीलाई कहिल्यै बनावटी बनाएनन् । उनले “अकवर्ड” तर इमानदार कुराकानीलाई आफ्नो हतियार बनाए ।

उनले केवल सफल मानिसको चमकधमक मात्र देखाएनन्, उनीहरूको संघर्षको त्यो अँध्यारो पाटोलाई पनि खोतले, जसलाई संसारले विरलै देख्छ । बिल गेट्सदेखि लिएर भारतका दिग्गज उद्यमीहरू उनको पोडकास्टमा आउनुको मुख्य कारण नै राजको सरलता र जिज्ञासु स्वभाव थियो । आज उनको पोडकास्ट भारतको नम्बर वान विजनेस पोडकास्ट मात्र होइन, करोडौँ युवाहरूका लागि जीवन जिउने र उद्यमशीलता सिक्ने एउटा पाठशाला पनि बनेको छ । डिजिटल प्लेटफर्मबाटै उनले प्रति एपिसोड लाखौँ कमाउँछन् र आज उनको नेटवर्थ करिब ११ मिलियन डलर पुगिसकेको छ । जुन एउटा साबुन बेच्ने केटाका लागि कुनै समय सपनाभन्दा बाहिरको कुरा थियो ।

राज शमानीको यो यात्रा विशेषगरी नेपाली ‘जेन–जी’ र संघर्षरत युवाहरूका लागि एउटा ‘पावर क्याप्सुल’ हो । कतिपयले आफूलाई पढाइमा कमजोर ठानेर वा सानो काम गर्नुपर्दा हिनताबोध गरेका हुन्छन् । तर, राजले प्रमाणित गरिदिए कि सफलता प्राप्त गर्न कुनै ठूलो डिग्री वा विरासत चाहिँदैन । केवल सिक्ने भोक र निरन्तरता भए पुग्छ । उनी अहिले केवल एक पोडकास्टर मात्र होइनन्, प्रभावशाली लेखक, एन्जेल इन्भेस्टर र संयुक्त राष्ट्र संघको युवा एसेम्ब्लीमा भाषण दिने वक्ता समेत बनेका छन् । उनले सिकाएको सबैभन्दा ठूलो पाठ भनेकै “सुरुवात सानो हुनु भनेको अपराध होइन” भन्ने हो ।

चाहे तपाईं खाडीमा पसिना बगाउँदै हुनुहुन्छ, चाहे काठमाडौँका सडकमा सानो पसल चलाउँदै हुनुहुन्छ, वा आफ्नो स्टार्टअपको सपना देखिरहनुभएको छ । तपाईंको आजको संघर्ष नै भोलिको सफलताको उत्कृष्ट अध्याय बन्नेछ । विभिन्न अन्तर्वार्तामा राजले भन्ने गर्छन,–“म कहिल्यै जान्ने–बुझ्ने थिइनँ, म त केवल लड्दै र सिक्दै अघि बढेको हुँ ।” यदि एउटा साधारण केटाले आफ्नो अभावलाई शक्तिमा बदलेर विश्वस्तरको साम्राज्य खडा गर्न सक्छ भने तपाईंको सपना पनि सम्भव छ । मात्र आवश्यक छ त केवल आफूभित्रको त्यो ‘राज शमानी’ लाई ब्युझाउने र जीवनको हरेक मोडमा नडराई ‘फिगरिंग आउट’ गरिरहने हिम्मतको ।