हिजाब नलगाई गीत गाउँदा इरानी गायिकालाई ७४ कोर्रा


काठमाडौं ।

सार्वजनिक रूपमा हिजाब नलगाई गीत गाएको भन्दै इरानकी चर्चित गायिका परास्तु अहमदीलाई ७४ कोर्रा हानिएको छ। करिब दुई वर्षअघि गरेको सांगीतिक प्रस्तुतिका कारण उनीमाथि यस्तो सजाय दिइएको घटनाले इरानमा महिलाको स्वतन्त्रता र सुरक्षाबारे पुनः अन्तर्राष्ट्रिय बहस चर्काएको छ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अहमदी र उनको सांगीतिक समूहका चार सदस्यलाई नोभेम्बर २३ मा इरानको धार्मिक सहर कोममा ७४–७४ कोर्रा हानिएको थियो। सन् २०२४ को डिसेम्बरमा हिजाब नलगाई सार्वजनिक रूपमा गीत गाएको र सार्वजनिक मर्यादा उल्लङ्घन गरेको आरोपमा उनीहरूलाई सजाय दिइएको समाचारमा उल्लेख छ।

इरानमा महिलाले सार्वजनिक रूपमा हिजाब लगाउनुपर्ने कानुनी व्यवस्था छ। त्यस्तै, महिलाले सार्वजनिक रूपमा एकल गायन गर्न पाउने विषयमा पनि कडा प्रतिबन्ध छन्। अहमदीले हिजाबबिना सांगीतिक प्रस्तुति दिएर यी प्रतिबन्धलाई चुनौती दिएकी थिइन्। उनको प्रस्तुतिको भिडियो सार्वजनिक भएपछि त्यसले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो।

इरानमा महिलामाथि हिंसाका अन्य घटनाले पनि चिन्ता बढाएका छन्। सीबीएसका अनुसार नोभेम्बर २१ मा पश्चिमी इरानको सनन्दाज सहरमा हेलिया फत्ताही नामकी महिलाको हत्या भएको थियो। आफू गर्भवती भएको कुरा परिवारलाई बताएपछि अविवाहित छोरीको हत्या गरेको आरोपमा उनका आमाबुबालाई प्रहरीले पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर प्रहरीले घटनाको कारण पारिवारिक विवाद भएको बताएको छ र पक्राउ परेका आमाबुबामाथि त्यतिबेलासम्म औपचारिक अभियोग लगाइएको थिएन।

त्यस्तै, गिलान प्रान्तमा २३ वर्षीया सदफ हघबिनको जन्मदिनकै अवसरमा पूर्वप्रेमीले गोली हानी हत्या गरेको समाचार आएको छ। उनीसँग विवाह गर्न अस्वीकार गरेको कारण हत्या भएको हुन सक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तरपश्चिम इरानमा १६ वर्षीया जह्रा जेद्दीको पनि आफूलाई छोड्न खोजिरहेको पुरुषबाट हत्या भएको मानवअधिकारवादी संस्था हेङ्गावले जनाएको छ।

हेङ्गावका अनुसार पछिल्लो एक वर्षमा इरानका २७ प्रान्तमा कम्तीमा १५९ जना महिलाको हत्या भएको अभिलेख छ। तीमध्ये २३ वटा घटनालाई संस्थाले तथाकथित ‘अनर किलिङ’ अर्थात् परिवारको इज्जतको नाममा गरिने हत्या भनेर वर्गीकरण गरेको छ। यी तथ्यांक संस्थाले संकलन गरेका विवरणमा आधारित छन् र सबै घटना अभिलेखमा नआएको हुन सक्ने बताइएको छ।

इरानमा सन् २०२२ मा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि महिलाको अधिकारका लागि ठूलो आन्दोलन भएको थियो। हिजाबसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको मृत्युपछि ‘महिला, जीवन, स्वतन्त्रता’ नारासहित देशव्यापी प्रदर्शन भएको थियो। त्यसपछि केही महिलाले सार्वजनिक स्थानमा हिजाब नलगाई हिँड्न थाले पनि कानुनी प्रतिबन्ध र कारबाहीको जोखिम भने कायम रहेको सीबीएसले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।