भोटेकोशी बाढीलगायत विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा तीनदिने महायज्ञ हुने


काठमाडौँ ।

प्राकृतिक विपत्ति, दुर्घटना तथा महामारीमा परी अकालमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्ति र मुक्तिको कामना गर्दै नवलपुरको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा विशेष पितृमुक्ति महायज्ञ आयोजना हुने भएको छ ।मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा मङ्सिर १ गतेदेखि सञ्चालन भइरहेको अष्टाचल धनधान्याञ्चल विराट महायज्ञअन्तर्गत मङ्सिर २० गतेदेखि तीन दिनसम्म पितृमुक्ति महायज्ञ गर्न लागिएको हो ।

महायज्ञमा भोटेकोशी बाढीलगायत विभिन्न प्राकृतिक विपत्ति, दुर्घटना तथा महामारीमा परी ज्यान गुमाएकाहरूको आत्माको शान्ति र सद्गतिको कामना गरिनेछ । यस क्रममा भागवत पाठपारायण, तिलाञ्जली, तर्पण, नारायणबलि, सामूहिक प्रार्थना तथा विशेष वैदिक अनुष्ठान गरिने आयोजकले जनाएको छ ।महायज्ञमा दिवङ्गत व्यक्तिका आफन्तले कर्ताका रूपमा सहभागी भई कर्म गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसका लागि पितृहरूको नाम, गोत्र र तस्बिर उपलब्ध गराउन सकिने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए ।मुक्तिनाथबाबाका अनुसार महायज्ञको उद्देश्य दिवङ्गत आत्माहरूको मुक्ति र शान्तिका साथै वैदिक विश्वविद्यालय स्थापना, सनातन सभ्यताको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धन गर्नु पनि हो । उनले अनुष्ठानमा सहभागी हुन सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।