काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ द्वारा आयोजित पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि पार्टीभित्र एकता आवश्यक रहेको बताए ।
उनले पार्टीका विभिन्न तहका निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि चाँडै हुने उल्लेख गर्दै महाधिवेशनमा पराजित भएका उम्मेदवारलाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताका मुद्दामा कांग्रेस सधैँ अगाडि हुनुपर्छ,’ उनले भने ।
महामन्त्री पौडेलले स्थानीय नेता तथा कार्यकर्तालाई नागरिकको विश्वास जित्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र न्यायको पक्षमा उभिन आग्रह गरे ।
कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ बाट केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयसहित विभिन्न तहका पार्टी पदाधिकारीलाई सम्मान गरिएको थियो ।








तपाईंको विचार लेख्नुहोस्