काठमाडौँ ।
नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दूतावासले जनाएको छ।
नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल–अमेरिका आर्थिक साझेदारी मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिएका छन्।
नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अमेरिकी कम्पनीहरूका लागि नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्नु अमेरिकी प्रशासन र दूतावासको प्राथमिकता रहेको बताए।
उनका अनुसार नेपालमा अमेरिकी कम्पनीहरूले सफल व्यवसाय तथा साझेदारी विस्तार गर्न सके थप अमेरिकी लगानीकर्ता पनि नेपाली बजारप्रति आकर्षित हुनेछन्।
अर्बोमले भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउने प्रयासमा अमेरिकी दूतावासले नुसाक्कीजस्ता संस्थासँग सहकार्य जारी राख्ने बताए।
कार्यक्रममा उनले भोटेकोशी बाढीबाट प्रभावित समुदायप्रति सहानुभूति व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जानकारी दिए।
नेपाल–अमेरिका सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको उल्लेख गर्दै उनले आगामी दिनमा व्यापार, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने अमेरिकी प्रतिबद्धता व्यक्त गरे।








तपाईंको विचार लेख्नुहोस्