विज्ञानमन्त्री महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी आन्दोलनमा


काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानको ऐन तथा नियमावलीका विषयमा सरोकारवालासँग कुनै छलफल नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन्।

प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै कर्मचारीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

प्रदर्शनमा सहभागी कर्मचारीहरूले सरोकारवालाका सुझावलाई बेवास्ता गर्दै ल्याइएको नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली वैज्ञानिक र कर्मचारीमैत्री नभएको आरोप लगाएका छन्।

विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई अन्योलमा धकेल्ने र दक्ष जनशक्तिलाई पलायन हुन बाध्य पार्ने कदम स्वीकार्य नहुने बताउनुभयो।

उहाँले नयाँ बन्ने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्य निर्धारण गर्ने भएकाले यस प्रक्रियामा सम्बन्धित सरोकारवालाको सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले हाल जारी अध्यादेश तथा नियमावली तत्काल खारेज गर्न माग गर्नुभयो।

आन्दोलनरत कर्मचारीहरूले अध्यादेश र नियमावली निर्माणका क्रममा भएको भनिएको मनोमानी रोक्न, नवनियुक्त समिति सदस्यहरूलाई समेत जानकारी नदिई निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्न तथा मन्त्रालय र मन्त्रीबाट संस्थामाथि हुने हस्तक्षेप बन्द गर्न माग गरेका छन्।

त्यस्तै, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माण गर्न, संस्थाको सक्षम नेतृत्व खुला प्रतिस्पर्धा र विज्ञापनमार्फत चयन गर्न तथा साविकको ऐनअन्तर्गत नियुक्त भएका सबै कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।

कर्मचारीहरूले आफूहरूलाई धम्क्याउने, थर्काउने र मनोबल गिराउने गतिविधि बन्द गरी विश्वासको वातावरण निर्माण गर्न पनि आग्रह गरेका छन्।

देशभित्रै दक्ष जनशक्तिलाई सम्मान र अवसर प्रदान गर्दै प्रतिभा पलायन रोक्नुपर्ने, विद्यमान संरचनालाई कमजोर बनाउनुको सट्टा थप सुदृढ गर्नुपर्ने तथा नयाँ संरचना निर्माणमा अनावश्यक खर्च गर्नुभन्दा नास्टका प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गरी अनुसन्धान बजेट बढाउनुपर्ने उनीहरूको भनाइ छ।

त्यसैगरी, संस्थाको स्वायत्तता सुनिश्चित गर्दै वैज्ञानिकहरूलाई कुनै पनि दबाब र हस्तक्षेपबिना अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुपर्ने मागसमेत कर्मचारीहरूले अघि सारेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।