उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भएको फिल्म आशाको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
आगामी फागुन १४ गते रिलिज हुने फिल्मको पोस्टरले पारिवारिक कथाभित्र लुकेको रहस्य र घटनाक्रमबारे दर्शकमाझ कौतुहलता जगाएको छ। रोयल भीमसेनले तयार पारेको पोस्टरमा एउटा घरलाई केन्द्रमा राखिएको छ।
घरभित्र दिवंगत पात्रको तस्बिरमा माला लगाइएको छ भने अभिनेता आशान्त शर्मा पण्डितको भेषमा देखिएका छन्। महेश त्रिपाठी किरिया बसेको अवस्थामा छन् भने अभिनेत्री अञ्जना बराइली घरको दैलोबाट चिहाइरहेकी छन्। पोस्टरमा शुशांक मैनालीको तस्बिरसमेत देखिन्छ। यी दृश्यले फिल्मको कथावस्तु र पात्रहरूको सम्बन्धबारे अनेक कौतूहलता उब्जाएका छन्।
निर्मात्री शर्मिला थापाले फिल्मको विषयवस्तु र कथाको भावअनुसार पोस्टर तयार पारिएको बताइन्। उनका अनुसार फिल्म पूर्णरूपमा पारिवारिक कथामा आधारित छ। परिवारका सदस्यले एकसाथ हेर्न र त्यसबाट विभिन्न विषयमा मनन गर्न सक्ने गरी फिल्म निर्माण गरिएको उनको भनाइ छ। विषयप्रधान कथालाई फिल्मी शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै उनले हलसम्म पुग्ने दर्शकको समय र पैसा दुवैको सदुपयोग हुने विश्वास व्यक्त गरिन्।
वितरक तथा प्रदर्शकसगको छलफलपछि आगामी फागुन १४ गतेलाई प्रदर्शन मिति तय गरिएको पनि उनले जानकारी दिइन्।राजिव गुरुङको कथा तथा निर्देशनमा बनेको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी, बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन्।
काठमाडौ उपत्यकासहित नमोबुद्ध र धुलिखेल आसपासमा छाया“कन गरिएको फिल्म रिच इन्टरटेन्मेन्टले वितरण गर्दैछ।फिल्ममा सुदाम सिकेले स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनालीले छायांकन, युग भुसाल र एसडी योगीले संगीत, किशोर आचार्यले ध्वनि डिजाइन तथा लोकेश बज्राचार्यले सम्पादन गरेका छन्।








तपाईंको विचार लेख्नुहोस्