नेपाली फिल्मलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माणको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजीएफएफ) २०२७ हुने भएको छ।
आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने महोत्सवको पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५ सयभन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएको आयोजकले जानकारी गराएका छन्। नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवमा प्राप्त फिल्मको संख्या अपेक्षाभन्दा उत्साहजनक रहेको आयोजकले जनाएको छ।
महोत्सवमा सहभागी हुन विश्वका विभिन्न देशबाट करिब एक सयजना फिल्मकर्मी, सञ्चारकर्मी तथा फिल्म उद्योगका विशिष्ट व्यक्तित्वलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।
हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा प्राप्त फिल्ममध्ये करिब एक सय उत्कृष्ट फिल्म छनोट गरी चार दिनसम्म प्रदर्शन गरिनेछ। फिल्म छनोटको जिम्मेवारी निर्देशक सुवर्ण थापाको नेतृत्वमा गठित समितिलाई दिइएको छ। छनोट भएका फिल्ममध्ये उत्कृष्टलाई निर्माता, निर्देशक तथा अभिनेता अशोक शर्माको नेतृत्वमा रहने नेपाली तथा विदेशी जुरीले विभिन्न विधामा नगद पुरस्कारसहित अवार्ड प्रदान गर्नेछन्।
महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै ५ सयभन्दा बढी फिल्म प्राप्त हुनुलाई अन्तर्राष्ट्रिय फिल्म क्षेत्रले नेपालमा हुन लागेको महोत्सवप्रति देखाएको विश्वास र चासोका रूपमा लिएका छन्।
महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीसगै माउन्टेन, वातावरण, मानवशास्त्र, मानवअधिकार, महिला तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित फिल्मलाई प्राथमिकता दिइने उनले जानकारी गराए। त्यसैगरी एनिमेसन, विद्यार्थी फिल्म र कृत्रिम बौद्धिकता (एआई) मा आधारित सिर्जनालाई समेत विशेष स्थान दिइने आयोजकले जनाएको छन्।
महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार ४ दिनसम्म फिल्म प्रदर्शनका अतिरिक्त विशेष सम्मान, अन्तरक्रिया, फिल्म कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।








तपाईंको विचार लेख्नुहोस्