काठमाडौं र भक्तपुर प्रहरी परिसरको नेतृत्वमा पनि हेरफेर, सीआईबीदेखि विभिन्न अनुसन्धान ब्युरोसम्म नयाँ जिम्मेवारी

६० एसपीको सरुवा, १७ जिल्लाका प्रहरी प्रमुख फेरिए


काठमाडौं ।

नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को एकैपटक सरुवा गरिएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार गरेको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका एसपीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

सरुवासँगै १७ जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर भएको छ । यसअघि काजमा खटिएका केही एसपीको समेत कार्यरत रहेकै जिल्लामा दरबन्दी कायम गरिएको छ ।

सरुवा सूचीअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्टलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई खटाइएको छ ।

यसैगरी, यसअघि काजमा खटिएका एसपीमध्ये पर्सामा पवनकुमार भट्टराई, सुनसरीमा पुष्पराज मल्ललगायतको दरबन्दी कार्यरत रहेकै जिल्लामा कायम गरिएको छ ।

यसपटकको सरुवामा काठमाडौं प्रहरी परिसरको नेतृत्वसमेत फेरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को बैंकिङ कसुर अनुसन्धान शाखामा कार्यरत दानबहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रुकेश तण्डुकारलाई जिल्ला प्रहरी परिसर भक्तपुरको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखामा केशव भट्टराई र बैंकिङ कसुर अनुसन्धान शाखामा नरेन्द्र चन्दलाई सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा भाग्येन्द्र पुरुष ढकाल र सुधिरराज शाहीलाई पठाइएको छ । साइबर ब्युरोको अपराध अनुसन्धान शाखामा अंगुर जीसी तथा मानव बेचबिखन अनुसन्धान ब्युरोमा नवीन कार्कीलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा केशवकुमार थेवेलाई सरुवा गरिएको छ भने प्रहरी महानिरीक्षकको सचिवालयमा कविता कटवाललाई ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले सार्वजनिक गरेको सरुवा विवरणअनुसार सरुवा भएका एसपीहरूले २०८३ मंसिर महिनादेखिको तलब तथा भत्ता नयाँ दरबन्दीबाटै पाउनेछन् । सोहीअनुसार अभिलेख अद्यावधिक गर्न राष्ट्रिय किताबखाना (प्रहरी शाखा) लाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।