भौतिक उपलब्धिको भीडमा हराएको जीवनको कथा, दार्जलिङमा मानव अधिकारकर्मी राजु सरकारको दर्शनप्रधान गीत सार्वजनिक


दार्जलिङ ।

भौतिक सुख, सम्पत्ति, प्रतिष्ठा र सफलताको पछाडि दौडिँदा मानिसले आफ्नै अस्तित्व, पहिचान र जीवनको वास्तविक अर्थ बिर्सिंदै गएको यथार्थलाई समेटेर रचना गरिएको दर्शनप्रधान गीत सिक्किममा सार्वजनिक गरिएको छ। मानव अधिकारकर्मी तथा गीतकार राजु सरकारद्वारा रचित उक्त गीत वरिष्ठ साहित्यकार मोहन दुवालले ल्याबटप र मोबाइलको बटन थिचेर सार्वजनिक गर्नुभएको हो ।


नेपालको जनमत वाङ्मय प्रतिष्ठानको दार्जिलिङ–सिक्किम साहित्यिक यात्राका क्रममा दार्जलिङको बतासे स्थित हिमालयन हवेलीमा विशेष भेटघाटमा गीत सार्वजनिक गरिएको हो। साहित्यिक भ्रमणका क्रममा भएको उक्त सिर्जनाले यात्रालाई साहित्यिक तथा सांस्कृतिक भेटघाटसँगै नयाँ सांगीतिक सिर्जनाको अवसरका रूपमा समेत जोडेको छ।

गीतमा आजको भौतिकवादी समाजमा मानिसले धन, सम्पत्ति, प्रतिष्ठालाई नै जीवनको सार्थक उपलब्धि ठान्ने प्रवृत्तिमाथि दार्शनिक प्रश्न उठाइएको छ। आफूले चाहेका सबै कुरा प्राप्त गरेजस्तो देखिए पनि त्यसको खोजीमा मानिसले आफ्नो वास्तविक परिचय, आत्मसन्तुष्टि र जीवनको सार गुमाउँदै गएको भाव गीतमा अभिव्यक्त गरिएको छ।

गीतका शब्दमा मानिसले अनेकौँ सपना पूरा गरे पनि आफूलाई चिन्न नसकेको, बहुरङ्गी संसारको भीडमा हराएको र बाहिर हाँसो तथा खुसी देखाए पनि भित्रभित्रै रित्तिँदै गएको जीवनको यथार्थ प्रस्तुत गरिएको छ।
गीतको मुख्य भाव बोकेको अंशमा भनिएको छ—

‘जे चाहे त्यही पाएँ, रङ्गियो जीवन,
आफैँलाई बिर्सिएर रोचक बन्दै गयो जीवन।
बहुरङ्गको भीडमा हरायो जीवन,
ढल्न सकिएन रात, प्रश्नै प्रश्न तेर्सियो।’

त्यस्तै, जीवनका पाना पल्टाउँदै आफ्नो अस्तित्व र पहिचान खोज्दा पनि आफूलाई भेट्न नसकेको भाव गीतमा यसरी प्रस्तुत गरिएको छ—
‘पाना पाना पल्टाएर खोजेँ, भेटिएन कतैपनि,
धुजा धुजा भयो जीवन।
मनभित्र हेर्दा पनि आफ्नो रूपै देखिनँ,
हजारौँ सपना बोकेँ, आफैँलाई चिनिनँ।’

गीतले बाहिरी संसारको आकर्षण र मानिसको आन्तरिक जीवनबीचको अन्तरलाई पनि उजागर गरेको छ। रंगमञ्चजस्तो संसारमा मानिस हाँसिरहेको देखिए पनि उसको मनभित्र अनेकौँ पीडा, असन्तुष्टि र रिक्तता लुकेको हुन सक्ने भाव गीतमा समेटिएको छ।
गीतकार राजु सरकारका अनुसार यो गीत भौतिक उपलब्धि र प्रगतिलाई मात्र जीवनको अन्तिम लक्ष्य ठान्ने प्रवृत्तिमाथि आत्मसमीक्षा गर्न प्रेरित गर्ने उद्देश्यले रचना गरिएको हो। मानिसले प्रतिष्ठा र सम्पत्ति कमाएपछि पनि जीवनको वास्तविक खुसी र सन्तुष्टि कहाँ छ भन्ने प्रश्न गीतले उठाएको छ।

गीत सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार मोहन दुवालले यसको स्वर र लय सिर्जनाको तयारी भइरहेको जानकारी गराए। गीतलाई पूर्ण सांगीतिक स्वरूप दिन सङ्गीत संयोजन डा.सौरभ सरकार र सन्तोष भक्त श्रेष्ठ तथा स्वराङ्कनको लागि डा.सचिता रेग्मी र मनोविज्ञ प्रवेश विष्टले तयारी गरिरहनुभएको छ ।

साहित्यिक भ्रमणका क्रममा भएको सिर्जनात्मक छलफलका क्रममा सार्वजनिक भएकोे यो गीतले साहित्य, दर्शन र संगीतलाई एउटै भावमा जोड्ने प्रयास गरेको छ। यात्रामा सहभागी साहित्यकारहरूले पनि यस सिर्जनालाई भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
साहित्यिक यात्राले नयाँ ठाउँको अवलोकन र साहित्यकारबीचको सम्बन्ध विस्तार मात्र नगरी नयाँ सिर्जना गर्ने प्रेरणा पनि दिन सक्छ भन्ने उदाहरणका रूपमा सिक्किममा सार्वजनिक गरिएको राजु सरकारको यो गीतलाई लिइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।