काठमाडौ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन बाध्य हुने बताए।
पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्ने बताए। निर्धारित समयमा निर्वाचन नगराई स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ।
स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने व्यवस्था ल्याउन संविधान संशोधन आवश्यक पर्ने उल्लेख गर्दै उनले सरकारले यसबारे कुनै ठोस गृहकार्य नगरेको आरोप लगाए।
कांग्रेस तत्काल सडक आन्दोलनमा जाने पक्षमा नरहेको स्पष्ट पार्दै पौडेलले सरकारको हठ र अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्र रक्षाका लागि अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए।
उनले नागरिकका आवाज र असहमतिलाई सरकारले सुन्नुपर्नेमा जोड दिँदै लोकतन्त्रको रक्षा र समयमै निर्वाचन सम्पन्न गर्नु कांग्रेसको प्रमुख सरोकार रहेको बताए।











प्रतिक्रिया