फुजैराहमा २३ सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते


काठमाडौं ।

संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

गृह मन्त्रालयका अनुसार पाँच ट्रक र १८ कार गरी २३ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। मध्यरातअघि फुजैराह प्रवेशद्वारमा ट्राफिक जामका कारण सवारीसाधन सुस्त गतिमा चलिरहेका बेला एक ट्रक चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको थियो।

दुर्घटनापछि ट्रकमा आगलागी हुँदा आगो अन्य सवारीसाधनमा समेत फैलिएको थियो। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ भने मृतकको पहिचानका लागि डीएनए परीक्षण भइरहेको छ।

मृत्यु हुनेमा यूएईका नागरिकसँगै भारतीय नागरिकसमेत रहेको भारतीय वाणिज्य दूतावासले जनाएको छ। दूतावासले मृतकका परिवारलाई आवश्यक सहयोग गरिरहेको बताएको छ।