छ प्रदेशको आर्थिक गणना तथ्यांक प्रशोधन सम्पन्न


काठमाडौं ।

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ प्रदेशका करिब ११ लाख व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन कार्य सम्पन्न गरेको छ ।

कार्यालयका अनुसार कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तथ्यांक प्रशोधन सकिएको छ भने बागमती प्रदेशको काम जारी छ ।

गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालका अनुसार प्रशोधन गरिएका विवरणमा रहेका त्रुटि, दोहोरोपन र अङ्कगत असङ्गति सच्याउने काम भइरहेको छ ।

कुल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएको गणनामा हालसम्म करिब सात लाख प्रतिष्ठानको विवरण डिजिटल प्रणालीमा प्रविष्ट गरिएको छ ।

गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको आर्थिक गणनामा उद्योग, व्यापार, कृषि, बैंक तथा वित्तीय संस्था, सहकारी र सेवा क्षेत्रका प्रतिष्ठान समेटिएका छन् ।

आर्थिक गणनाको प्रतिवेदन तयार भएपछि लगानीबाट सिर्जना हुने रोजगारी, उत्पादन तथा समग्र अर्थतन्त्रमा पर्ने प्रभाव विश्लेषण गर्न सहयोग पुग्ने कार्यालयले जनाएको छ ।