आज यमपञ्चकको तेस्रो दिन : श्रद्धा र भक्तिपूर्वक गाईको पूजा गरिँदै, आज गाई तिहार


काठमाडौँ ।

हिन्दु धर्मावलम्बीहरूले आज यमपञ्चकको तेस्रो दिन गाईको पूजा आराधना गरी गाई तिहार मनाउँदै छन्। गाईलाई धनकी देवी लक्ष्मीको प्रतीक तथा मातृस्वरूप मानेर पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ।

आजका दिन गाईलाई स्नान गराई निधारमा टीका, घाँटीमा फूलमाला लगाएर धूप, दीप र आरतीसहित पूजा गरिन्छ। साथै, हरियो घाँस, फलफूल तथा विभिन्न मीठा परिकार खुवाएर श्रद्धा प्रकट गर्ने चलन छ।

धार्मिक विश्वासअनुसार गाईको पूजा गर्नाले घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ। वैदिक परम्परामा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीकका रूपमा लिइएको छ।

गाईपूजा केवल धार्मिक आस्थासँग मात्र नभई पशुप्रति माया, दया र संरक्षणको भावना अभिवृद्धि गर्ने पर्वका रूपमा समेत महत्त्वपूर्ण मानिन्छ।