पश्चिमी वायुको प्रभाव कायमै, हिमाली र पहाडी क्षेत्रमा वर्षा–हिमपातको सम्भावना


काठमाडौं ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, आइतबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।