लुम्बिनी विकास कोषमा आनीको नियुक्ति बदरको माग गदै प्रदर्शन, बदर नभए देशव्यापी सशक्त आन्दोलनको चेतावनी

0
Shares

बुटवल। 

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले नियुक्ति बदर गर्न माग गरेको छ । नियुक्ति बदर नगरे देशव्यापी सशक्त आन्दोलन चर्काउने चेतावनी समेत  दिइएको छ । महाअभियान’ले शुक्रवार लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको विपरीत रहेको बताउँदै नियुक्ति बदर गर्न माग गर्नु भयो । आनी विदेशी र विवादित नागरिक भएको आरोप लगाउँदै उनको नियुक्ति कदापि मान्य नहुने उहाँले चेतावनी दिनु भयो ।  ‘नागरिकताकै सामान्य विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिको सांसद पद खारेज भएको थियो, तर उनै रवि लामिछानेको पार्टी सरकारमा भएका बेला विवादित आनीको नियुक्तिले स्थानीयवासी आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनु भयो ।

महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले विधि र प्रक्रिया मिच्दै सक्षम र निष्पक्ष विज्ञहरूलाई पन्छाएर विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप लगाउनु भयो । 

महाअभियानका प्रवक्ता राम विकास चौधरीले नागरिकता ऐन, २०६३ को दफा २१ बमोजिम झुठा विवरण दिई नागरिकता लिने विदेशी नागरिकलाई एकदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि एकलाख सम्म जरिवाना भई नागरिकता स्वतः रद्द हुने कानुनी व्यवस्था रहेको स्मरण गराउनु भयो। 
आनीलाई सजाय हुनुपर्ने विदेशी व्यक्तिलाई समेत कार्यकारी पद दिएर सरकारले जानाजान गम्भीर गल्ती  गरेको भन्दै तिहारपछि आन्दोलन चर्किने चेतावनी दिनु भयो ।