काठमाडौं ।
गोरखाको बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमपहिरो र ठूलो पहिरो रहेको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो।
प्रतिवेदनअनुसार असोज २५ गते बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोला सिरानमा ठूलो हिमपहिरो र पहिरो गएको थियो। बिहान करिब ४:२० बजे भएको उक्त घटनाले बुढीगण्डकी नदीमा विनाशकारी बाढी निम्त्याएको प्रतिवेदनमा उल्लेख छ।
बाढी आएको तीन दिनपछि सार्वजनिक गरिएको प्राविधिक प्रतिवेदनले घटनाको मुख्य कारण पहिचान गरेको हो। हिमपहिरो र पहिरोका कारण नदीमा एक्कासि ठूलो मात्रामा पानी तथा गेग्रान मिसिँदा बाढीको जोखिम बढेको हुन सक्ने देखिएको छ।
हिमाली क्षेत्रमा हुने यस्ता प्राकृतिक घटनाले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनधनमा गम्भीर क्षति पुर्याउन सक्ने भएकाले जोखिमयुक्त नदी किनारका बासिन्दालाई सतर्क रहन आवश्यक देखिएको छ।











प्रतिक्रिया