काठमाडौं, (नेस) ।
नेपाल–भारत उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भारतीय सरकारले घोषणा गरेको सहयोग तथा विभिन्न विकास साझेदारीका पहलहरूको स्वागत गरेको छ ।
संघले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाललाई विकास सहायता, पारवहन, ऊर्जा, शिक्षा, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा सहयोग गर्ने भारतीय घोषणालाई द्विपक्षीय सम्बन्ध र आर्थिक विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भनेको छ । भारतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा दिगो विकासका लागि २४० अर्ब रुपियाँको सहयोग प्याकेज घोषणा गरेको विषयलाई पनि संघले सकारात्मक रूपमा लिएको छ ।
भारतले नेपाललाई कान्डला र पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच दिने सहमतिले तेस्रो मुलुकसँगको व्यापार सहज र प्रतिस्पर्धी बन्ने संघको अपेक्षा छ । त्यस्तै, अयोध्या–जनकपुर रेल सेवा, सरयू–कमला एक्सप्रेस रेल तथा दार्चुला–धार्चुला पुल निर्माणले व्यापारिक र धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने संघको विश्वास छ ।
लोअर अरुण जलविद्युत् आयोजनाको शिलान्यासलाई स्वच्छ ऊर्जा विकासको महत्वपूर्ण उपलब्धि मानेको संघले नेपालमा भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) प्रणालीअन्तर्गत प्राविधिक क्याम्पस स्थापना गर्ने घोषणाले सूचना प्रविधि, स्टार्टअप र नवप्रवर्तनको विकासमा सहयोग पुग्ने जनाएको छ ।
यसै गरी, खेलकुद पूर्वाधार र नेपाली खेलाडीको प्रशिक्षणमा भारतीय सहयोगले क्रिकेटलगायत खेल क्षेत्रको विकासमा योगदान पुग्ने संघको विश्वास छ । संघले भारत सरकार, काठमाडौंस्थित भारतीय राजदूतावास, नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा दुवै देशका सम्बन्धित अधिकारीहरूप्रति आभार व्यक्त गरेको छ ।








तपाईंको विचार लेख्नुहोस्