अर्घाखाँचीमा बस दुर्घटना: १६ जना घाइते, ६ जनाको अवस्था गम्भीर


अर्घाखाँची।

अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो। पश्चिम नवलपरासीको सुनवलबाट यात्रु लिएर सुपादेउराली दर्शनका लागि आएको रिजर्भ बस फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक लक्ष्मीप्रसाद पन्थीका अनुसार बसले पहिले मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित भएको बस सडक छेउको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ। अन्य घाइतेहरूको ठाडा प्राथमिक उपचार केन्द्रलगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार एक पुरुषसमेत दुर्घटनामा परी घाइते भएको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।