झण्डै १२ सय मेगावाट विद्युत निर्यात स्वीकृत


काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर २ गते अनुमति दिएको हो । उक्त अनुमतिअनुसार ५९४ मेगावाट विद्युत १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मङ्सिर २०८३– ३१ जेठ २०८४)सम्म आईएक्समा बिक्री गर्न सकिनेछ ।

अनुमतिप्राप्त परिमाणमध्ये २०५ मेगावाट विद्युत कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत आइएक्समा बिक्री गरिनेछ ।

नेपाल विद्युत प्राधिकरण र भारतका एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत निर्यात हुँदै आएको छ । चालु वर्षका लागि सम्झौताअनुसार विद्युत निर्यात गर्ने अवधि गत ३१ अक्टोबर (१४ कात्तिक) मा समाप्त भएको थियो ।

मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न आवश्यक अनुमतिका लागि प्राधिकरणबाट निर्यातयोग्य आयोजनाहरूको सूची निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय सम्बन्धित निकायमा पेश गरिएको थियो । त्यसपछि स्वीकृतिका लागि निरन्तर पहल तथा फलोअप हुँदै आएको थियो।

सोही प्रक्रियाअन्तर्गत हाल ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो ।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत आइएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । त्यसैगरी, द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार भारतका हरियाणा तथा बिहार र बंगलादेशमा विद्युत निर्यात हुँदै आएको छ ।

यसैबीच, भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ । सेती खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ ( २ मङसिर २०८३–१५ भदौ २०८४) सम्म आईएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।

यससँगै हालसम्म नेपालबाट भारततर्फ कुल १,१९८ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ । त्यस्तै, आगामी हिउँदयामको विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भारतबाट १,००४ मेगावाट विद्युत आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको छ ।

डेढ सय मेगावाट खरिद गर्न टेन्डर गरिने

आगामी सुख्खायाममा विद्युत आपूर्ति  व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्म विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो।

यसका लागि भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा विद्युत खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव अघि बढाउने प्राधिकरण सञ्चालक समिति छ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ।

पछिल्ला दुई–तीन वर्षदेखि सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा नेपालले भारतको विद्युत् पावर एक्सचेन्ज (आईईएक्स) को डे अहेड मार्केट (डीएएम) तथा रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत खरिद गर्दै आएको छ। यस वर्ष भने भोटेकोशी नदीमा आएको हिमबाढीका कारण विद्युत आयोजनाहरूमा थप क्षति पुगेपछि आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको छ।

नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते गरेको निर्णयअनुसार आगामी जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो। समितिले आवश्यकताअनुसार थप विद्युत भारतीय पावर एक्सचेन्जबाट खरिद गर्ने र अप्रिल तथा मे महिनामा माग बढ्ने भएकाले त्यसबेलाको आपूर्ति–माग अवस्था तथा भारतीय बजारमा उपलब्ध विद्युतको क्षमताका आधारमा थप खरिदको निर्णय लिनुपर्ने निष्कर्ष निकालेको थियो।

आगामी सुख्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजनाहरू जोडिने अपेक्षा गरिएको छ। तर, नदीको बहाव घट्ने भएकाले ती आयोजनाबाट सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत उत्पादन हुने अनुमान छ। यसले आन्तरिक उत्पादनबाट माग व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ।

प्राधिकरणले १५० मेगावाट विद्युत खरिदका लागि भारतीय तीन कम्पनीसँग दररेट प्रस्ताव माग गरेको थियो। प्राप्त प्रस्तावमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ दर प्रस्ताव गरेका थिए।

सबैभन्दा कम दर प्रस्ताव गर्ने एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र (एलओआई) जारी गरिएको थियो। उक्त कम्पनीलाई असोज २९ गते विद्युत खरिद सम्झौताका लागि बोलाइएकोमा कम्पनीले असोज ३० गते पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जानकारी गराएको थियो।

कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यमा भएको वृद्धि, विश्वव्यापी मौसम परिवर्तन तथा एल निनो प्रभाव र भारतभित्रै बढ्दो विद्युत मागलाई कारण देखाउँदै प्रतियुनिट ६ रुपैयाँ ९० पैसामा दिन नसक्ने भन्दै पुरानो प्रस्ताव पुनरावलोकन गर्नुपर्ने जनाएको छ।

यसैबीच, भारतीय विद्युत बजारको डे अहेड मार्केटमा असोज २०८३ को औसत बजार समायोजन मूल्य (एमसीपी) प्रतियुनिट ११ रुपैयाँ ७४ पैसा नेपाली रुपैयाँ अर्थात् ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको छ। यसले अघिल्लो प्रस्तावित दरमा विद्युत खरिद सम्झौता हुन नसकेको अवस्थालाई थप जटिल बनाएको छ।

प्राधिकरणले पुरानो दरमा सम्झौता हुन नसकेको र आगामी सुख्खायाममा विद्युतको माग तथा आपूर्तिबीचको अन्तर बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो। अन्तर्राष्ट्रिय बोलपत्रमार्फत विभिन्न भारतीय विद्युत व्यापारिक कम्पनीबाट प्रस्ताव प्राप्त गरी तुलनात्मक रूपमा प्रतिस्पर्धी दरमा विद्युत खरिद गर्ने प्राधिकरणको योजना छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।