काठमाडाैं ।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीश विरुद्ध २८ वटा उजुरी परेका छन् ।
संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा समिति सभापति वोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनकाअनुसार प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका हुन् ।
चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएको उनले जानकारी दिए । तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको उनको भनाई छ ।
उनले भने, ‘१३ जना व्यक्तिले उजुरी गर्नुभएको छ, त्यो मध्ये डाक्टर रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारुको विरुद्धमा ६ वटा, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरु परेको छ । त्यसमा ५ जनाले सबै जनालाई उजुरी दिनुभएको छ ।’
समितिको बैठकले उजुरीकर्तालाई शुक्रवार समितिमा बोलाएर उजुरीको पुष्टि तथा औचित्यबारे छलफल गर्ने र त्यसपछि प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने कार्यतालिका पारित गरेको छ । पारित कार्यतालिकाअनुसार कात्तिक २० गते शुक्रवार बिहान उजुरीकर्तासँग छलफल गरिनेछ ।
उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाइ गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै, कात्तिक २१ गते शनिवार प्रस्तावित न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाइ गर्ने र आवश्यक निर्णय गर्ने समितिको तयारी छ ।
संसदीय सुनुवाईका लागि तोकिएको ४५ दिनको समयसीमा नजिकिँदै गएको र दशैँ तथा तिहारको बिदाका कारण प्रक्रिया प्रभावित हुनसक्ने भएकाले तिहार अगाडी नै सुनुवाइ सक्नेगरि समितिले कार्यतालिका तय गरेको हो ।
संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १५ बमोजिम सचिवालयले प्रस्ताव गरेको कार्यतालिका समितिले परिमार्जनसहित पारित गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो । समितिको बैठक शुक्रवार बिहान ९ः३० बजेलाई बोलाइएको छ ।











प्रतिक्रिया