काठमाडौं।
फुटबल खेलमा खेलाडीले नियम उल्लङ्घन गर्दा रेफ्रीले रातो कार्ड देखाउनु सामान्य हो। तर ब्राजिलमा भएको एक यू–२० फुटबल खेलमा भने एउटै खेलमा ५३ जनालाई रातो कार्ड देखाइएको छ। यससँगै फुटबल इतिहासमा एउटै खेलमा सबैभन्दा धेरै रातो कार्ड देखाइएको नयाँ कीर्तिमान बनेको छ।
ब्राजिलको मिनास गेराइस यू–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा उबेरलान्डिया र मामोरेबीचको खेलमा यस्तो घटना भएको हो। पार्क दो साबिया स्टेडियममा भएको उक्त खेलमा ४३ खेलाडी, ८ जना प्रशिक्षक तथा कोचिङ स्टाफ र उबेरलान्डिया क्लबका २ जना बोर्ड सदस्य गरी कुल ५३ जनालाई रातो कार्ड देखाइएको थियो।
यसअघि सन् २०११ मा अर्जेन्टिनाको पाँचौँ डिभिजनअन्तर्गत एट्लेटिको क्लेपोल र भिक्टोरियानो एरेनासबीचको खेलमा ३६ वटा रातो कार्ड देखाइएको थियो। ब्राजिलको खेलले उक्त कीर्तिमान तोडेको हो।
यसरी सुरु भयो झगडा
खेलको दोस्रो हाफमा मामोरेले ३–१ गोलको अग्रता लिएको थियो। त्यसक्रममा मामोरेका खेलाडी दाभीले गोलको खुसी मनाउने क्रममा विपक्षी टोलीको बेन्चतर्फ लक्षित गर्दै जिस्क्याएपछि विवाद सुरु भएको थियो।
त्यसपछि उबेरलान्डियाका गोलकिपिङ प्रशिक्षक पाउलो सर्जियो डियास डोस सान्टोस मैदानमा प्रवेश गरी दाभीको सामना गर्न खोजेका थिए। त्यसलगत्तै दुवै टोलीका खेलाडी, प्रशिक्षक तथा अन्य कर्मचारीबीच सामूहिक झडप सुरु भयो।
झडप हुनुअघि नै तीन जना खेलाडीले रातो कार्ड पाइसकेका थिए। स्थिति नियन्त्रणबाहिर गएपछि सैन्य प्रहरीसमेत परिचालन गर्नुपरेको थियो। झडपका क्रममा रंगशालाका १४ वटा ढोका फुटेका थिए भने शौचालय, झ्याल, बेन्च, टेबल र कुर्सीलगायतका संरचनामा समेत तोडफोड भएको थियो। घटनाका कारण खेल करिब ४० मिनेटसम्म रोकिएको थियो।
खेलका रेफ्री फर्नान्डो प्याट्रिक ड्रोस्घिक मोडेस्टोले आफ्नो रिपोर्टमा दोस्रो हाफको ५४औँ मिनेटमा सामूहिक झडप भएको र त्यसपछि रातो कार्ड देखाउने तथा खेल समापनको प्रक्रिया पूरा गर्न असम्भव भएको उल्लेख गरेका छन्। सुरक्षाको अवस्था बिग्रिएकाले आफूले खेल समाप्त भएको घोषणा गरेको उनको भनाइ छ।
दोस्रो लेग नखेल्ने उबेरलान्डियाको निर्णय
घटनापछि देखाइएका रातो कार्डका कारण दोस्रो लेगका लागि मामोरेसँग केवल सात जना खेलाडी मात्र उपलब्ध रहेका थिए।
यता उबेरलान्डियाले भने दोस्रो लेगको खेल नखेल्ने निर्णय गर्यो। क्लबले आफ्नो निर्णयलाई ‘फेयर प्ले’ अर्थात् निष्पक्ष खेलको भावनासँग जोडेको छ। उबेरलान्डियाले दोस्रो लेग परित्याग गरेपछि मामोरे फाइनलमा प्रवेश गरेको छ भने उबेरलान्डियाले तेस्रो स्थानका लागि खेल्नेछ।
क्लबले घटनामा संलग्न व्यक्तिहरूमाथि आन्तरिक अनुशासनात्मक कारबाहीसमेत गरिसकेको जनाएको छ। क्लबका अनुसार खेलकुदको विकाससँगै व्यक्तित्व विकासलाई पनि प्राथमिकता दिन आवश्यक छ।











प्रतिक्रिया