काठमाडौं।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रा.लि.बीच ग्राहकलाई किस्ताबन्दीमा सामान खरिद गर्ने सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर बीएनपीएल (BNPL) प्लेटफर्ममा आबद्ध हुँदै क्रेडिट कार्ड प्रयोगकर्ताका लागि ब्याजरहित किस्ताबन्दी सुविधा सुरु गर्न लागेको हो।
सम्झौताअनुसार नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले ‘Buy Now Pay Later’ सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दीमा विभिन्न सामान खरिद गर्न सक्नेछन्। यस सुविधाअन्तर्गत सामान खरिद गर्दा ग्राहकले कुनै ब्याज तथा सेवाशुल्क तिर्नुपर्ने छैन।
काठमाडौंस्थित नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयमा कात्तिक १६ गते आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्तारा सोलुसन्स प्रा.लि.का कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गर्नुभएको थियो।
नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। बैंकले छिटोछरितो तथा गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
दक्ष व्यवस्थापन, युवा जनशक्ति तथा आधुनिक प्रविधिको समुचित प्रयोगमार्फत बैंकिङ सेवालाई थप सहज र प्रभावकारी बनाउँदै लगिएको बैंकले जनाएको छ।











प्रतिक्रिया