काठमाडौं।
गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९औँ वर्ष प्रवेशको अवसर पारेर बुधबार बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गर्नुभएको थियो।
नयाँ सञ्चालनमा आएको बालुवाटार शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिइएको बैंकले जनाएको छ।
बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिमा वृद्धि गर्ने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ।
बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यक वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।











प्रतिक्रिया