जहाँ देवता अझै नाच्छन् : हरिसिद्धिको बाह्रबर्से प्रतिज्ञा


हरेक बाह्र वर्षमा, हरसिद्धि भवानीको छत्तीस गजुर भएको चारतले मन्दिरअगाडि हरिसिद्धिनाचका परम्परागत नर्तक–पुजारी ‘च्याभू’हरूले नयाँ मुकुन्डो बनाई ताजा जलकलश स्थापना गर्दा, तिनीहरू केवल एउटा जात्रा मात्र गरिरहेका हुँदैनन् । तिनीहरू शताब्दीयौंअघि गाउँ र देवीबीच बाँधिएको एउटा सम्झौता पुन: नवीकरण गरिरहेका हुन्छन्– यस्तो सम्झौता जुन स्थानीय मान्यताअनुसार मल्लकालभन्दा पनि पुरानो हो । काठमाडौँ उपत्यकामा विरलै कुनै ठाउँले आफ्नो इतिहास हरिसिद्धिले जत्तिकै प्रत्यक्ष रूपमा बोकेको छ– आफ्ना ढोकाहरूमा, गुथीहरूमा, सुक्दै गएका इनारहरूमा र पुस्तैंपिच्छे एकपटक मुकुन्डो लगाई देवता बन्न निस्कने ती दशजना नर्तकहरूमा ।

हरिसिद्धिको नाम आफैंमा एउटा इतिहास हो । गाउँलेहरू आफूलाई ‘जलमी’ भन्छन्, जुन ‘जतल गाउँ’ शब्दबाटै अपभ्रंश भई ‘जल’ बनेको हो । स्थानीय अनुसन्धाता सकलबहादुर महर्जनले ‘जतल’ शब्दका तीनवटा सम्भावित अर्थ दिएका छन्– उत्पत्तिको मूल स्रोत जनाउने अर्थ, ६ दशकअघिसम्म धापाखेल, थैब, बाँडेगाउँ, लामाटार समेट्ने प्रशासकीय एकाइको अर्थ अथवा समथर भूभाग नै जनाउने अर्थ । शिलालेखहरूमा यस गाउँलाई ‘ज्येष्ठग्रामु’ अर्थात् जेठो वा पुरानो गाउँ पनि भनिएको छ ।

साम्राज्य, मिथक र स्मृतिबाट बनेको नाच
हरिसिद्धिनाच नेवार समुदायका असंख्य मुकुन्डोनाचमध्ये सबैभन्दा पुरानो मानिन्छ र यसको उत्पत्तिकथाले नै यसलाई थप रोचक बनाउँछ– किनभने यहाँ एउटा होइन, धेरै कथा एकसाथ बाँचिरहेका छन् । एउटा जनश्रुतिअनुसार, तान्त्रिक गुरु गयोजुजुका एक शिष्यले फूलचोकीको जंगलमा दाउरा खोज्न गएका बेला देवदेवी नाचिरहेको देखे र गुरुलाई यसबारे जानकारी दिए । गुरु गयोजुजुले स्वयं त्यो नाच देखेपछि देवीसँग अनुनय विनय गरी सो नाचलाई विधिविधानसहित मानव समाजमा ल्याई हरिसिद्धि गाउँमा स्थापना गरेको मानिन्छ ।

मल्लकालमा आइपुग्दा इतिहास अझ बाक्लिन्छ– एउटा ताम्रपत्रले वर्तमान मन्दिर प्रताप मल्लले बनाएको पुष्टि गर्छ भने उनका उत्तराधिकारी सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७९९ मा बाह्र वर्षमा एकपल्ट बुंगमती, थेचो, खोकना, चापागाउँ, गोदावरी, भक्तपुर र देवपाटनमा नचाउने रीत नै बसालिदिए । यही चक्र आजसम्म कायम छ ।

जात्रा– गौरव र महत्व
कुनै पनि समुदाय, वर्ग, समूह, जनजाति वा आदिवासीको पहिचान नै उसको संस्कृति र सम्पदा हो । जब पहिचान र अस्तित्वको प्रश्न उठ्छ, तब निश्चितरूपमा त्यही भाषा, संस्कृति र सम्पदाकै खोजी गरिन्छ । सम्भवत: नेपालकै सबैभन्दा पुरानो र छुट्टै पहिचान बोकेको हरिसिद्धि जात्रा केवल एउटा जात्रामा सीमित छैन, यो हरिसिद्धिको पहिचान, अस्तित्व र गौरव पनि हो । हरिसिद्धिका बासिन्दाले यसलाई दीर्घकालदेखि आफ्नो पहिचान र गौरवका रूपमा अँगाल्दै आएका छन् । वर्षमा दुईपटक साधारण नाच देखाउने तथा बाह्र वर्षमा विशेष भव्यताका साथ बाह्रबर्से जात्रा मनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

हरिसिद्धिनाच केवल एउटा धार्मिक अनुष्ठान मात्र होइन, यो सिंगो गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनलाई बाँध्ने धागो हो । तल दिइएका बुँदाहरूमा यसको बहुआयामिक महत्व केलाइएको छ ।

सांस्कृतिक पहिचान : हरिसिद्धिनाच यस गाउँको सबैभन्दा ठूलो पहिचान हो । ‘जलमी’ भनिने यहाँका बासिन्दाको परिचय नै यही नाचसँग गाँसिएको छ– प्रत्यक्ष रूपमा नाच्ने च्याभू र परोक्ष रूपमा सम्पूर्ण गाउँलेलाई रङ्गकर्मी मानिनु यसैको प्रमाण हो । बाह्र वर्षमा एकपल्ट हुने यो भव्य प्रस्तुतिले हामी को हौं भन्ने सामूहिक चेतना पुस्तौंदेखि जीवित राखेको छ । यसैले गाउँलाई उपत्यकाका अन्य नेवार बस्तीभन्दा छुट्टै चिनारी दिएको छ ।

सम्पदा र सम्पत्तिको जगेर्ना : बाह्रबर्से जात्राले मन्दिर, डबुली, मुकुन्डो, पुराना हातहतियार, कलश र अनुष्ठानसँग जोडिएका भौतिक संरचनाहरूको नियमित मर्मत–संरक्षणलाई बाध्यकारी बनाइदिन्छ । हरेक चक्रमा नयाँ मुकुन्डो बनाउने, मन्दिर सजाउने, पुराना सामग्री जाँच्ने काम हुने भएकाले यसले सम्पदालाई बिर्सिन नदिई सक्रिय रूपमा जोगाउने संयन्त्रको काम गर्छ, जुन आजको अतिक्रमण र क्षयको युगमा झनै महत्वपूर्ण बनेको छ ।

समुदायमा अपनत्वको भावना : मुकुन्डो बनाउने शिल्प, नृत्य–मुद्रा, बाजा बजाउने कला, पोशाक सिलाउने र सजाउने काम– यी सबैमा गाउँका फरक–फरक व्यक्ति र परिवारको योगदान जोडिन्छ । आफ्नो सीप वा श्रम यस महान् प्रस्तुतिको एउटा अंग बनेको महसुस हुँदा प्रत्येक सहभागीमा ‘यो मेरो पनि जात्रा हो’ भन्ने अपनत्वको भावना बलियो हुन्छ, जसले सामूहिक सहभागितालाई निरन्तरता दिन्छ ।

विभिन्न नाचहरूको संगम र ज्ञान आर्जन : यो जात्रा एउटै नाचमा सीमित छैन– दशावतार, विक्रमादित्य र मातृकाहरूको नृत्य, हरिबिजोक लीला, हात्ती र गणेशको हास्यव्यङ्ग्य नाच, घोडानाच, नाइगिचानाच आदि विविध शैली एकैसाथ प्रस्तुत हुन्छन् । यसरी यो जात्रा धार्मिक गाम्भीर्य, ऐतिहासिक स्मरण र लोक–मनोरञ्जनलाई एउटै मञ्चमा उतार्ने बहुआयामिक कला–संगम बनेको छ । नाचमार्फत रामायण र स्वस्थानी व्रतकथाका प्रसङ्ग, विक्रमादित्य, अष्टमातृका, गणेशजस्ता पात्रहरू सजीव देखाइने भएकाले यसले दर्शकलाई विशेषत: नयाँ पुस्तालाई पुस्तक पढेर भन्दा हेरेर बुझ्ने गरी पौराणिक ज्ञान हस्तान्तरण गर्छ । पात्रका नाम र प्रसङ्गमा राखिएका साङ्केतिक तहहरूले हरेकपल्ट नयाँ अर्थ पत्ता लगाउने अवसर पनि दिन्छन्, जसले यसलाई जीवित शिक्षाको माध्यम बनाउँछ ।

सांगीतिक वातावरण र एकता : दाफाभजन, धिमय्, खिं, धा:बाजा, खड्गीहरूको खिंबाजा, जोगीहरूको मुहालीजस्ता परम्परागत बाजा–भजन खल:हरू जात्राभरि सक्रिय हुन्छन् । गुँलासेवादेखि कार्तिकसेवा र माघसेवासम्म महिनौं लामो भजन–परिक्रमाले गाउँलाई निरन्तर एउटा सांगीतिक लयमा बाँधिराख्छ । आजकाल युवाले तबला, हार्मोनियमसँगै ड्रम, गितारजस्ता पश्चिमा बाजा पनि सिक्ने भएकाले यो परम्परा समयअनुसार फराकिलो पनि बन्दै छ । राजगुथि, मुछ:गुथि, अष्टमी गुथि र सल्ला गुथि– यी चारै गुथिका सदस्यको भूमिका जात्राको सफल सञ्चालनका लागि अनिवार्य हुन्छ । पूजा, भोज, सट्टाभर्ना, तालिमजस्ता प्रक्रियामा सिंगो गाउँको प्रत्यक्ष सहभागिता जरुरी हुने भएकाले यो जात्राले वर्गीय र पेसागत भिन्नता भएका सबै समूहलाई एउटै साझा उद्देश्यमा ल्याई उभ्याउँछ ।

गौरवको अनुभूति : बाह्र वर्षमा एकपल्ट मात्र हुने र नेवार समुदायकै सबैभन्दा पुरानो मानिने यो नाचमा सहभागी हुन पाउनु विशेषत: च्याभूको भूमिका पाउनु, गाउँले र सम्बन्धित परिवारका लागि जीवनकै ठूलो सम्मान र गौरवको विषय बन्छ । देवीको साक्षात् अवतारको रूपमा हेरिनेजस्ता किंवदन्तीहरूले यस भूमिकालाई थप गरिमामय बनाइदिएका छन् ।

बाह्य समाजसँग जोड्ने सेतु : जात्राको ख्याति र यसको ऐतिहासिक–पौराणिक गहनताले काठमाडौँ उपत्यका र बाहिरका विद्वान्, अनुसन्धानकर्ता एवं दर्शकहरूलाई हरिसिद्धितर्फ आकर्षित गर्छ । बुंगमती, थेचो, खोकना, चापागाउँ, गोदावरी, भक्तपुर, देवपाटनजस्ता ठाउँसम्म फैलिएको नाचको सञ्जालले पनि हरिसिद्धिलाई एक्ला बस्तीभन्दा उपत्यकाव्यापी सांस्कृतिक सञ्जालको केन्द्रविन्दुमा राखिदिन्छ, जसले यसलाई बाह्य समाजसँग जोड्ने प्राकृतिक सेतुको काम गर्छ ।

हरिसिद्धिनाच सञ्चालनको जिम्मेवारी बोकेका गुरु–परम्पराका ६ वटा टोलीलाई राष्ट्रप्रमुखबाटै औपचारिक रूपमा सम्मान र मान्यता प्रदान गरिएको छ । यसले हरिसिद्धिनाचलाई एउटा साधारण गाउँस्तरीय उत्सवबाट माथि उठाई राष्ट्रिय सांस्कृतिक सम्पदाकै हैसियतमा औपचारिक रूपमा स्थापित गरिदिएको छ । यस राष्ट्रिय मान्यताले जात्रालाई निरन्तर संरक्षण गर्नुपर्ने नैतिक र संस्थागत दायित्व थप बलियो बनाएको छ ।

चुनौती र निरन्तरताका उपाय
जात्राको परम्परागत प्रस्तुति शैलीले आजको प्रविधि र सञ्चारमाध्यमसँग तादात्म्य राख्न सकेको छैन, जसले गर्दा यो नयाँ पुस्ता र फराकिलो दर्शक वर्गसम्म पुग्न सकिरहेको छैन । जात्राको मूल भाव र मर्ममा कुनै आँच नआउने गरी, यसलाई फोटोग्राफी, भिडियो, सामाजिक सञ्जाल र डकुमेन्ट्रीजस्ता आधुनिक माध्यमबाट प्रस्तुत गर्नुपर्छ । अर्को कुरा, धेरै युवा आफ्नै गाउँको यस अमूल्य सांस्कृतिक सम्पदाको ऐतिहासिक र सामाजिक महत्वबारे अनभिज्ञ छन्, जसले पुस्तान्तरणमा खतरा निम्त्याउन सक्छ । विद्यालय तहदेखि नै जात्राको इतिहास, महत्व र यसले बोकेको पहिचानबारे व्यवस्थित रूपमा सिकाउने र सुनाउने पहल हुनुपर्छ, ताकि यो ज्ञान औपचारिक शिक्षाको हिस्सा बनोस् ।

आधुनिक व्यस्त जीवनशैली र शहरीकरणको चापले आम मानिसलाई सामुदायिक क्रियाकलापप्रति उदासीन बनाइरहेको छ, जसले जात्रामा प्रत्यक्ष सहभागिता घटाउन सक्छ । विद्यालय, समुदाय, टोल र युवा क्लबहरूले स्थानीय वडा कार्यालयसँग समन्वय गरी नियमित रूपमा युवा–केन्द्रित सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नुपर्छ, ताकि सहभागिता एउटा बानीका रूपमा विकसित होस् । हरिसिद्धिको नामले बोकेको सामूहिक पहिचान र गौरवबारे सार्वजनिक छलफल, अन्तरक्रिया र सञ्चारमाध्यमबाट निरन्तर सचेतना फैलाउनुपर्छ, ताकि सामुदायिक भावना पुन: बलियो बनोस् । जात्रासँग जोडिएका लामा किंवदन्ती, साङ्केतिक पात्र र जटिल कथानकहरू आजको छिटो–छरितो सूचना खोज्ने पुस्ताका लागि बुझ्न र सुन्न गाह्रो हुन सक्छ । लामा कथालाई स–साना, सजिलै बुझ्न सकिने लोककथा र पात्र–चरित्रमा विभाजन गरी, तिनलाई आजको जीवन र यथार्थसँग जोडेर रोचक ढङ्गले प्रस्तुत गर्नुपर्छ ।

हाल यो जात्रा मुख्यत: हरिसिद्धि र सम्बन्धित सीमित क्षेत्रमा मात्र केन्द्रित छ, जसले यसको राष्ट्रिय स्तरको पहिचान र पहुँच सीमित बनाइरहेको छ । ललितपुर महानगरपालिकाको सक्रिय समन्वयमा यसलाई देशभरका ७५३ स्थानीय तहसम्म चिनजान गराई, क्रमश: राष्ट्रिय महत्वको जात्राका रूपमा स्थापित गर्ने दिशामा काम अघि बढाउनुपर्छ । पुस्तौंदेखि सही–सही मितिसाथ जोगिँदै आएको जीवित परम्परा र संकुचित हुँदै गएको भौतिक विरासतको बीचको तनाव नै अन्तत: हरिसिद्धिको वास्तविक कथा हो । यो एकपटक हेरेर बिर्सिने भग्नावशेष होइन, बरु हरेक बाह्र वर्षमा एकपटक नवीकरण गरिने एउटा सम्झौता हो ।
(लेखक जोशी शिक्षाकर्मी तथा विकासका लागि पठन संस्कृति अभियन्ता हुनुहुन्छ ।)