पुरुषोत्तम र शान्तिले जिते वडा कप बुद्धिचालको उपाधि


काठमाडौं ।

सिएम पुरुषोत्तम सिलवाल र मोरङकी शान्ति धिमालले केएसए काठमाडौं वडा कप राष्ट्रिय रेपिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
काठमाडौं स्पोट्र्स एकेडेमी र काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा भएको दुईदिने प्रतियोगितामा पुरुषतर्फ पुरुषोत्तमले ८ अंक जोड्दै उपाधि जितेका हुन् । पहिलो भए वापत उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।

अन्तिम खेलमा सुरज महर्जनसँग बराबरी खेलेका पुरुषोत्तमले आठौं चरणमा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाललाई पराजित गरेका थिए ।

समान ८ अंक जोडेका रुपेश टाइब्रेकरमा पछि पर्दै दोस्रो भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । नवौं चरणमा रुपेशले काठमाडौंका वरिष्ठ खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठलाई हराएका थिए ।

ललितपुरका सुरज महर्जन ७.५ अंकसहित तेस्रो भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे । दोलखाका आशिष फुयाल र सन्देश बरुवाल क्रमश: चौथो र पाँचौं स्थानमा रहे ।

महिलातर्फ शान्तिले काठमाडौंकी राधिका पौडेललाई पछि पार्दै उपाधि जितेकी हुन् । कुसुम घिसिङ तेस्रो भए भने प्रज्ञा पन्त चौथो र सोनालिका श्राफ पाँचौं स्थानमा रहे ।

प्रतियोगितामा उत्कृष्ट लोकलतर्फ वडा नं. १६ का भेट्रान खेलाडी जनार्दन श्रेष्ठ पहिलो भए । मोहम्मद इमरान खान दोस्रो भए । उत्कृष्ट केएमतर्फ नवीन तण्डुकार तथा भेट्रानतर्फ बद्रीलाल नेपाली पहिलो भए ।

त्यस्तै सविन प्रकाश सैंजुले १६ वर्षमुनिमा प्रथम स्थान हासिल गरे । १६ वर्षमुनि शुभमदीप थापा,१४ वर्षमुनि प्रबिर केसी, १२ वर्षमुनि हार्दिक पन्त र युवा विधामा राजन साह उत्कृष्ट घोषित भए ।

कुल २ लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको समापन समारोह काठमाडौं स्पोट्र्स क्लबका अध्यक्ष नारायणदास गमालको अध्यक्षतामा भएको थियो ।

समारोहमा प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठ र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनलगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए।