अभिषेकले अस्टे्रलियन ओपनको प्लेअफ खेल्ने


काठमाडौं ।

नेपाली टेनिसका उदीयमान खेलाडी अभिषेक बास्तोलाले अस्ट्रेलियन ओपन २०२७ को एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने प्रतियोगितामा अभिषेकले मेन्स सिंगल्समा नेपालबाट खेल्नेछन् । उनले छनोट चरणका लागि उपलब्ध चार वाइल्ड कार्डमध्ये एक प्राप्त गरेका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा अभिषेकले अस्ट्रेलियन ओपन खेल्ने उनको सपना पूरा हुने अवसर प्राप्त भएको बताए । उनले बताए–’अस्ट्रेलियन ओपन खेल्ने सपना थियो । यो अवसर पाउँदा निकै खुसी छु ।’

एसिया/प्यासिफिक क्षेत्रका खेलाडीलाई अस्ट्रेलियन ओपनको मुख्य प्रतियोगितामा पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले प्लेअफ आयोजना गर्न लागिएको हो । यसमा अस्ट्रेलियाबाहेक एसिया/प्यासिफिक क्षेत्रका देशका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । पुरुष र महिला दुवैतर्फ

विश्व वरीयतामा १०५औं वा सोभन्दा पछाडि रहेका खेलाडी प्रतियोगिताका लागि योग्य हुनेछन् ।प्लेअफको छनोट चरणमा आठ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट उत्कृष्ट चार खेलाडी मुख्य ड्रमा प्रवेश गर्नेछन् । मुख्य ड्रमा वरीयताका आधारमा छनोट भएका अन्य १२ खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् ।

चारपटक एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका अभिषेक अस्ट्रेलियन ओपनको एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफ खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन् ।

अस्टे्रलियन ओपन विश्व टेनिसमा हुने चार ग्रान्डस्लाम प्रतियोगितामध्ये एकमा पर्दछ । हरेक वर्ष चार वटा ग्रान्डस्लाम प्रतियोगिता आयोजना हुन्छ । जसमा वर्षको पहिलो ग्रान्डस्लामको रूपमा अस्टे्रलियन ओपन आयोजना हुने गर्दछ । यसपछि फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन प्रतियोगिता आयोजना हुने गर्दछ ।