पोखरा ।
नेपालीहरुको महान् पर्व तिहारमा पोखरामा बाह्य फूल आयातलाई पछिल्ला वर्षहरुमा निस्तेज पार्ने काम भइरहेको छ । पोखरा महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै बाह्य फूल आयातलाई रोक्ने प्रयास गर्दै आएको थियो ।
यसका लागि अनुदानसँगै प्रवद्र्धनका कार्यक्रमसमेत गर्दै आइरहेको थियो । तर यस वर्ष अर्णव समुद्री आँधीको प्रभावपछि भएको वर्षाका कारण फूल उत्पादन घट्ने सम्भावना देखिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताएका छन् । पोखराभित्रबाटै यहाँ ७० प्रतिशत फूलको माग पूर्ति हुँदै आइरहेकोमा स्थानीय उत्पादनमा यस वर्ष केही असर पर्न सक्ने उनले बताएका छन् ।
‘हिजो बाहिरबाट फूल आयात हुँदै आइरहेको थियो, आज त्यो घट्ने क्रममा रहेको छ । पोखराभित्रै ७० प्रतिशत फूल उत्पादन भइरहेको छ, त्यसबाहेक हामीले छिमेकी पालिकाहरुबाट ल्याउने गरेका छौं’, उनले भने, ‘यसले यहाँका व्यवसायीहरुलाई आत्मनिर्भर बनाउन मद्दत गरिरहेको छ । अझ पछिल्लो समय फूलकै खेती गर्ने किसानको संख्यासमेत बढ्न थालेको छ ।’
पोखरामा अहिले विशेष गरी सयपत्रीको हाइब्रिड जात उत्पादन गर्ने गरिएको छ । कर्मा ५५५, टेनिस बल, उन्नत जातको कलकत्तियालगायत पनि छन् । व्यवसायीहरुले लगाउने फूलका साइज ठूला हुने गरेका छन् भने कृषकहरुले लगाउने साना साइजको हुने गरेको कडरियाको भनाइ छ । विगतको तुलनामा अहिले उत्पादनमा वृद्धि भए पनि मौसममा आएको परिवर्तन र तिहार अलि पछि हुँदा मागमा फरक पर्ने देखिएको छ ।
कडरियाका अनुसार बीउमा अनुदान, प्रविधिमा समेत अनुदान सहयोग गर्दै आइरहेको छ । पोखरामा करिब २ सय रोपनी क्षेत्रफलमा फूल खेती भइरहेको छ । २ देखि ३ लाखसम्मको माला खपत हुने गरेको छ ।
तिहारको अवसरमा पोखरामा सयपत्री फूलको मेलासमेत हुने भएको छ । फ्लोरिकल्चार एसोसिएसन नेपाल (फान) कास्कीको आयोजनामा कार्तिक १८ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेशिक एवं तेस्रो यसपत्री फूल मेलाको आयोजना गरिएको छ ।
मेलाबारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीले तिहार लक्षित गरेर मेलाको आयोजना गर्न लागिएको जानकारी दिए । उनले स्थानीय फूलको प्रवद्र्धन गर्दै बाह्य आयातलाई रोक्नका लागि यो मेलाले ठूलो भूमिका खेल्ने जानकारी दिए । पोखरा रंगशालामा हुने मेलामा २२ वटा व्यावसायिक स्टल, तीनवटा कृषि सामग्रीका स्टल, एक सूचनामूलक स्टल रहनेछ ।











प्रतिक्रिया