प्रचण्ड–माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति


काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । दुवै पार्टीले मंगलबार काठमाडौंको पेरिसडाँडास्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी एकता घोषणा गरेका हुन् ।

एकतासम्बन्धी सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन् ।

दुई पार्टीबीच एकताका लागि १० बुँदे सहमति भएको छ । सहमतिअनुसार आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ ।

त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायमा आपसी सहमतिका आधारमा संगठनात्मक समायोजन गरिने भएको छ ।

१० बुँदे सहमतिमा पार्टीको संगठनात्मक संरचना व्यवस्थापन, विभिन्न तहका समिति तथा निकायको समायोजन र एकता प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने विषय समेटिएका छन् ।