काठमाडौं ।
बाढीबाट पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नुवाकोटस्थित देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरिएको छ ।
स्थानीय सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले विदुर नगरपालिका–२, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मंगलबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । उक्त शाखा रहेको स्थानबाट करिब ७ किलोमिटर दूरीमा रहेको बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बाढीबाट शाखा पूर्ण रूपमा क्षति भए पनि त्यहाँ कार्यरत कर्मचारी भने सुरक्षित रहेका थिए ।
नयाँ शाखा शुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले देवीघाट शाखा क्षतिग्रस्त भएपछि पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बट्टारमा शाखा सञ्चालनमा ल्याइएको बताए । उनले प्रतिकूल परिस्थितिमा धैर्यताका साथ सेवा सञ्चालनमा सहयोग पुर्याउने कर्मचारीको प्रशंसासमेत गरे ।
बट्टार शाखामार्फत ग्राहकको वित्तीय आवश्यकताअनुसार सम्पूर्ण रिटेल बैंकिङ सेवा उपलब्ध गराउनुका साथै साना तथा कर्पोरेट व्यवसायीलाई वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य बैंकले राखेको छ ।
यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) तथा मधुमेह परीक्षणलगायतका सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
हाल बागमती प्रदेशमा बैंकका ५६ वटा शाखा सञ्चालनमा छन् । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको छ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया