म्याग्दी ।
हिमाली जिल्ला म्याग्दीका गाउँघरमा कुनै समय दैनिक जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएका ढिकी, जाँतो, पानीघट्ट, कोल र ओखलजस्ता परम्परागत प्रविधिहरु लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोग र संरक्षणको अभावमा पुर्खाले आफ्नो सीप, श्रम र मेहनतबाट निर्माण गरेका यी साधनहरुको अस्तित्व सङ्कटमा पर्दै जान थालेको हो ।
केही समयअघिसम्म गाउँका अधिकांश घरहरुमा देखिने ढिकी र जाँतो अहिले फाट्टफुट्ट केही घरमा मात्रै भेटिन्छन् । जिल्लाको दुर्गम गाउँबस्तीमा समेत विद्युतीकरण भएपछि कुटानी–पिसानी गर्नका लागि विद्युतीय मिलको प्रयोग बढ्दै गएको छ । छोटो समयमा पनि काम छिटोछरितो हुने, खर्चको बचत र सहज हुने भएकाले परम्परागत साधनको प्रयोग घटेको स्थानीयवासी बताउँछन् ।
पहिले गाउँघरमा डिजेल र पानीबाट चल्ने मिलको प्रयोग धेरै हुन्थ्यो । अहिले विद्युतीय मिलको प्रयोग बढेपछि पुराना प्रविधिहरु विस्थापित हुँदै गएका छन् । ‘केही समयपहिले डिजेल र पानीबाट मिल चलाउने गरिन्थ्यो गाउँघरमा, अहिले त्यो पनि हरायो,’ म्याग्दीको बेनी नगरपालिका–५ चिप्लेटीका पूर्णबहादुर कार्कीले भन्नुभयो, ‘आजभोलि गाउँमा बिजुलीबाट चल्ने मिल आयो । त्यसैमा कुटानी–पिसानी हुन थालेपछि पहिलाका सबै सामग्रीहरु हराए । अब पुराना प्रविधिको संरक्षण भएन भन्ने भनाइ मात्रै सीमित हुनेछन् ।’
परम्परागत सीप र प्रविधिको प्रयोगबाट बनाइएका सामग्री हराउँदै जान थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार समयमै संरक्षण गर्न नसके गाउँको पहिचान र पुर्खाको सीप झल्काउने यस्ता सामग्रीहरु आगामी पुस्ताका लागि केवल सुनेको विषयमा सीमित हुन सक्छन् । विगतमा ढिकीमा धान कुट्ने गरिन्थ्यो भने जाँतो र पानीघट्टमा मकै, कोदो, गहुँ, जौ, चामललगायत खाद्यान्न पिस्ने गरिन्थ्यो । त्यसै गरी, कोलमा तोरी, उखु र कागती पेल्ने चलन थियो । गाउँघरमा उपलब्ध स्रोतसाधनको उपयोग गर्दै स्थानीय सीप र प्रविधिका आधारमा निर्माण गरिएका यी सामग्रीहरु ग्रामीण मानिसको दैनिक जीवनका लागि निकै महत्वपूर्ण थिए ।
चिप्लेटीकी यामकुमारी खत्रीले परम्परागत सामग्रीको महत्व घट्दै जानु र संरक्षणमा ध्यान नपुग्नुले तिनको अस्तित्व मेटिने अवस्थामा पुगेको बताउनुभयो । गाउँघरमा प्रयोग हुँदै आएका पुराना प्रविधिको महत्व नयाँ पुस्तालाई बुझाउन र तिनको संरक्षण गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । आधुनिक प्रविधिको प्रयोगले कामलाई छिटो र सहज बनाएको भए पनि विद्युतीय मिलमा निर्भर हुनुपर्दा कहिलेकाहीँ समस्या हुने गरेको स्थानीयवासीसँग अनुभव छ । विद्युत् अवरुद्ध हुँदा कुटानी–पिसानी गर्ने काम रोकिने भएकाले पहिले घरमै रहेका ढिकी र जाँतोको उपयोगिता पनि उनीहरूले सम्झने गरेको पाइन्छ ।
परम्परागत साधनको प्रयोग घट्दै जानुमा आधुनिक प्रविधिको विस्तारसँगै संरक्षणको अभाव र पुराना सीपप्रतिको चासो कम हुनु पनि कारण रहेको स्थानीयवासीको भनाइ छ । गाउँघरमा अझै बाँकी रहेका ढिकी, जाँतो, पानीघट्ट र कोलजस्ता सामग्रीको पहिचान गरी संरक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ । यस्ता सामग्रीको संरक्षण र प्रचारप्रसार गर्न सकेमा आगामी पुस्तालाई पुरानो जीवनशैली र प्रविधिबारे जानकारी दिनुका साथै स्थानीय मौलिकताको संरक्षणमा समेत योगदान पुग्ने देखिन्छ ।
ढिकी, जाँतो र पानीघट्टमा कुटेको तथा पिसेको खाद्यान्न मानव स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यी साधनहरुमा बनाएको खाद्यान्न मानव शरीरलाई निकै आडिलो हुने हुँदा रोगसँग लड्ने क्षमता पनि धेरै हुने बूढापाकाको भनाइ छ । परम्परागत सीप, श्रम र दिमाग लगाएर बनाइएका साधनहरुले समाजको मौलिकपनसमेत झल्काउने भएकाले प्रचारप्रसार तथा संरक्षण गर्नुपर्ने आवश्यकता छ ।











प्रतिक्रिया