छाता र वर्षादी ओत अनि पारिलो घामसंगै काठमाडौं फिल्म फेस्टिभल


लगातारको झरीले जनजीवन प्रभावित भइरहे पनि काठमाडौं फिल्म फेस्टिभल २०८३ मा भने दर्शक र फिल्मकर्मीको उत्साह उस्तै देखियो। लगातारको झरीका बीच देश र विदेशका सहभागीहरू छाता र वर्षादी ओढेरै कार्यक्रमको शुभारम्भ र दोस्रो दिनको कार्यक्रममा उपस्थित भएका थिए। प्रतिकूल मौसमका बाबजुद अन्तर्राष्ट्रिय फिल्मकर्मी तथा नेपाली कलाकारको उपस्थितिले शुभारम्भ समारोहलाई उत्सवमय बनाएको थियो।

काठमाडौँ महानगरपालिकाको आयोजनामा राजधानीमा सम्पन्न तीनदिने महोत्सवको शुक्रबार वसन्तपुरमा आयोजित समारोहबीच महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, भारतीय अभिनेत्री शबाना आजमी तथा ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले संयुक्त रूपमा शुभारम्भ गरेका थिए। समारोहमा विभिन्न परम्परागत नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो। महोत्सवमा नेपाली फिल्म क्षेत्रका विभिन्न पेशाकर्मी तथा कलाकारसंगै भारतीय अभिनेत्री शबाना आजमी, जापानी निर्देशक ताकायुकी नाकामुरा, भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा, सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलरलगायत अन्तर्राष्ट्रिय फिल्म क्षेत्रका व्यक्तित्व सहभागी थिए। फिल्म प्रदर्शनमा मात्र सीमित नरही अन्तरसंवाद, मास्टर क्लास, रेड कार्पेट र पुरस्कार वितरणसमेत समेटिएको महोत्सवले नेपाली तथा विदेशी फिल्मकर्मी, निर्देशक, विद्यार्थी र रचनात्मक क्षेत्रका व्यक्तित्वलाई एउटै मञ्चमा जोडेको छ।

महोत्सवअन्तर्गत शनिबार भारतीय अभिनेत्री शबाना आजमीले नेपाल पर्यटन बोर्डमा आयोजित फिल्म, महोत्सव र सार्थक जीवन विषयक अन्तरसंवादमा सहभागिता जनाइन्। भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हाले सिर्जनात्मक सहरको प्रवर्धनमा फिल्म र महोत्सवको भूमिकाबारे छलफल गरिन्। जापानी निर्देशक ताकायुकी नाकामुराले राष्ट्रिय सभागृहमा यामागाता युनेस्को फिल्म सिटी सट्र्सको परिचयात्मक प्रस्तुति दिए। महोत्सव चल्दै जाँदा अतिथीहरु पारिलो घामसंगै फेस्टिवलमा रमाउने पुगे। महोत्सवको अन्तिम दिन आईतवार सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलरले ग्लोबल साउथ र अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा फिल्म सौन्दर्यशास्त्र विषयमा मास्टर क्लास सञ्चालन गरेका छन्। नेपाली फिल्म उद्योगको विगत, वर्तमान र भविष्यबारे प्यानल छलफल पनि भएको छ। नेपाली फिल्मको इतिहास र संरक्षणलाई महोत्सवले विशेष स्थान दिंदै सन् १९७० र १९८० को दशकमा निर्माण भएका सिन्दुर, कुमारी र के घर के डेरा प्रदर्शनलाई अगाडि सारेका छ।

अन्तर्राष्ट्रिय प्यानोरामाअन्तर्गत चिनियाँ फिल्म डियर यु, भारतीय फिल्म बयान, अस्ट्रेलियन फिल्म मिस एन प्लेस, कोरियन फिल्म द किङ्स वार्डेन र अमेरिकी फिल्म गडफादर पनि महोत्सवको आकषण बनेको छ।

स्थानीय प्रतिभा र सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल प्यानोरामा सट्र्समा छनोट १० फिल्मलाई पुरस्कार प्रदान गरिएको छ। नेपाल पानोरामा अन्तर्गत प्रदर्शित सबै ९ फिल्मलाई १ लाख रुपियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। जीवन सुनुवारद्वारा निर्देशित भकुण्डे भूतले सर्ट भिडियो च्यालेञ्जको अवार्ड प्राप्त गरेको छ। फेस्टिभलअन्तर्गत आव्हान गरिएको माइ कल्चर, माइ हेरिटेज शीर्षकमा प्राप्त भएकामध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वाश तथा रहस्यमा आधारित ४ मिनेट ५५ को भिडियोले अवार्ड जितेको हो। यस च्यालेञ्जका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए।

च्यालेञ्जमा अनुभव श्रेष्ठद्वारा निर्देशित द सोल अफ गुठिले दोस्रो र सौगात सापकोटाद्वारा निर्देशित झिंगु छें : (मेरो घर) ले तेस्रो स्थान प्राप्त गरेको छ। सर्ट भिडियो च्यालेञ्जअन्तर्गत शैलेश हमालको ह्याप्पिनेस, धृटिका तिवारीको बगैंचा जस्तै सहर, करण ब्लनको दियो, दिनेश महर्जनको इन्द्रजात्रा : द विगेस्ट फेस्टिभल अफ काठमाडौ, सौगात सापकोटाको झिंगु छें (माइ होम), नर्जुङ् बुढाथोकीको विहाइण्ड द गड, केशव सार्कीको अन्तिम यात्रा, जीवन सुनुवारको भकुण्डे भूत, क्रिमिन तुलाधरको सचिका : अ थ्रेड द्याद टाइज यु होम, अनुभव श्रेष्ठको द सोल अफ गुठि र सजिल बस्नेतको छं ल्वाः मंसां गरी ११ सर्ट भिडियो छनोट भएका थिए।