खोटाङ।
खोटाङको ग्रामिण परिवेशमा जन्मिएर नेपाली गीत–सङ्गीत, कविता र मौलिक संस्कृतिको क्षेत्रमा झन्डै चार दशक योगदान पु¥याउनुभएका प्राज्ञ टीका चाम्लिङको निधन भएको छ । तीन बर्षदेखि क्यान्सरसँग संघर्ष गर्दै आउनुभएको प्राज्ञ चाम्लिङको ५३ बर्षको उमेरमा मंसिर ५ गते राती करिब १ बजे निधन भएको हो ।
यसअघि क्यान्सरवाट बच्दै आए पनि पछिल्लो पटक शरीरको अर्को भागमा समेत क्यान्सर देखिएपछि चाम्लिङको बी एण्ड बी अस्पताल काठमाण्डौंमा उपचार भइरहेको थियो ।
पुर्वी पहाडी जिल्लामा जन्मिएर राष्ट्रियस्तरमा साहित्यिक पहिचान स्थापित गर्नुभएका चाम्लिङले गीत र कवितामार्फत समाज, संस्कृति र मौलिक पहिचानलाई अभिव्यक्त गर्नुभएको थियो ।
लामो समयदेखि गीत, कविता र संस्कृतिको क्षेत्रमा सक्रिय चाम्लिङका ‘सैहँमा’, ‘जाउँ ंसंगी गाउँघरैमा’, ‘आलु तामाले’, ‘मरिलानु के छ र’, ‘बाटैमा घामजुन’ लगायत दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन् । राजेशपायल राई, यम बराल लगायतका चर्चित गायक–गायिकाले चाम्लिङका गीतबाट थप चर्चा बटुलेका थिए ।
कतिपय गीतहरु रेकर्ड भएर पनि सार्वजानिक नभएको र कतिपय गीत, कविताहरु डायरीमै रहेको उहाँले सुनाउनुभएको थियो ।
टीका चाम्लिङका ‘सधैँभरि’, ‘राखौं सम्झना’, ‘सपनाको रङ’, ‘समयको रङ’, ‘जूनको बस्ती’, ‘मुन्दुम र मालिङ्गो’ तथा ‘बागी कविता’ लगायतका कृति प्रकाशित छन् । दुई सयभन्दा बढी गीतलाई स्वर र सङ्गीतको माध्यमबाट श्रोतामाझ पु¥याउनुभएका उहाँका सिर्जना नेपाली गीतिसाहित्यका महत्त्वपूर्ण सम्पत्ति हुन् । गीतिसंग्रह, गीतिकाव्य र कविता जस्ता कृतिले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई परिचित गराएका छन् ।
चाम्लिङले २०६१ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकारको पुरस्कार पाउनुभएको थियो । त्यस्तै, २०७५ सालमा राष्ट्रव्यापी बाल गीत–सङ्गीत सम्मेलनमा पनि सर्वोत्कृष्ट गीतकार घोषित हुनुभएको थियो ।
बहुप्रतिभावान चाम्लिङले २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज बेलायतको खोटाङ प्रतिभा पुरस्कार र २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला तथा संस्कृति सम्मान लगायतका दर्जनौं सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको थियो ।
चाम्लिङ राई राखमिहँछा उत्थान समाजको संस्थापक उपाध्यक्ष रहनुभएको चाम्लिङ रावासावा प्राज्ञिक समाज लगायत विभिन्न साहित्यिक, साँस्कृतिक तथा भाषिक संघसंस्थामा आवद्द रहनुभएको थियो । उहाँको भौतिक अनुपस्थिति अपूरणीय छ । तर उहाँले सिर्जना गरेका गीत, कविता र साहित्यिक कृतिहरूले उहाँलाई पुस्तौँसम्म जीवित राख्ने श्रष्टाहरु बताउँछन् ।
काठमाण्डौंमै वसोबास गर्दै आउनुभएको चाम्लिङका श्रीमती र एक छोरा रहेको आफन्त सुरेश राईले बताउनुभयो ।








तपाईंको विचार लेख्नुहोस्