एनसेल फाउन्डेसनले बाढी प्रभावित त्रिभुवन त्रिशूली क्याम्पसको शैक्षिक पूर्वाधारमा सहयोग गर्ने


काठमाडौं।

एनसेल फाउन्डेसनले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ ।

गत भदौमा आएको बाढीले क्याम्पसका संरचनामा ठूलो क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको थियो । यसबाट तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएकोमा उनीहरूलाई पुनः कक्षामा फर्काउने उद्देश्यले एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग सहकार्य गर्ने भएको हो ।

यस सम्बन्धमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले नगरपालिका कार्यालयमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार एनसेल फाउन्डेसनले नियमित पठनपाठन सञ्चालनका लागि क्याम्पसका ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गर्नेछ । साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायत शैक्षिक सामग्री तथा सुविधा पनि उपलब्ध गराउनेछ ।

नगरप्रमुख श्रेष्ठले क्याम्पसको पठनपाठन सञ्चालनका लागि आवश्यक शैक्षिक पूर्वाधारमा सहयोग गर्न एनसेल फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन् । उनले यस सहकार्यलाई सकारात्मक रूपमा लिँदै नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

एनसेल फाउन्डेसनकी निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध रहेको बताइन् । प्रभावित समुदायको आवश्यकता पहिचान गरी स्थानीय निकायसँग सहकार्य गरेर सहयोग गर्ने फाउन्डेसनको योजना रहेको उनको भनाइ छ ।

उनले विदुर नगरपालिकासँगको सहकार्य सुरुवात मात्र भएको उल्लेख गर्दै स्थानीय साझेदारसँग मिलेर अन्य विद्यालय तथा क्याम्पसको पहिचान गरी सहयोग विस्तार गरिने बताइन् ।

एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । त्यसपछि प्रभावित क्षेत्रमा शिक्षा क्षेत्रको पुनःस्थापना र विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले स्थानीय तहसँग प्रत्यक्ष सहकार्य सुरु गरेको हो ।

यस कार्यक्रमको कार्यान्वयन साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ । एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र स्थानीय सरकारले संयुक्त रूपमा आवश्यकता मूल्याङ्कन गरी पठनपाठन पुनःसञ्चालन तथा निरन्तरताका लागि सहयोग आवश्यक रहेका अन्य विद्यालय र क्याम्पससमेत पहिचान गर्ने जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।