काठमाडौं।
नेपालका जलविद् डा. पल्लवकुमार श्रेष्ठले जर्मनीको प्रतिष्ठित वैज्ञानिक संस्था हेल्महोल्ट्ज एसोसिएसनले प्रदान गर्ने विद्यावारिधि पुरस्कार २०२६ प्राप्त गरेका छन् ।
हेल्महोल्ट्ज एसोसिएसनअन्तर्गत विद्यावारिधि अनुसन्धान गरिरहेका आठ हजारभन्दा बढी अनुसन्धानकर्तामध्ये यस वर्ष डा. श्रेष्ठसहित ११ जना मात्र उक्त पुरस्कारबाट सम्मानित भएका हुन् । नेपालबाट यो पुरस्कार प्राप्त गर्ने डा. श्रेष्ठ सम्भवतः पहिलो नेपाली भएको जनाइएको छ ।
एसोसिएसनका अध्यक्ष प्रा. मार्टिन केलरले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । प्रसिद्ध जर्मन भौतिकशास्त्री हर्मन भोन हेल्महोल्ट्जको नामबाट स्थापित यो संस्था जर्मनीका १८ वैज्ञानिक तथा प्राविधिक अनुसन्धान संस्थाहरूको छाता संगठन हो । वैज्ञानिक अनुसन्धानबाट प्राप्त उपलब्धिलाई प्रविधि हस्तान्तरणमार्फत सामाजिक हितमा प्रयोग गर्ने उद्देश्यले संस्थाले काम गर्दै आएको छ ।
डा. श्रेष्ठले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट सिभिल इन्जिनियरिङमा स्नातक र वाटर रिसोर्सेस इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् । उनले हेल्महोल्ट्ज एसोसिएसनअन्तर्गतको प्रतिष्ठित वातावरणीय अनुसन्धान संस्था हेल्महोल्ट्ज सेन्टर फर इन्भाइरोन्मेन्टल रिसर्च (यूएफजेड) को कम्प्युटेसनल हाइड्रोसिस्टम्स विभागबाट विद्यावारिधि गरेका हुन् । उनी हाल सोही संस्थामा पोस्टडक्टोरल वैज्ञानिकका रूपमा कार्यरत छन् ।
उनको अनुसन्धान नदीको जलप्रवाह र बाढीको पूर्वानुमानलाई थप विश्वसनीय तथा सटीक बनाउने प्रणालीको विकासमा केन्द्रित छ । विशेषगरी साना पहाडी नदीका जलाधार क्षेत्रको जलप्रवाह विश्लेषणमा विद्यमान हाइड्रोलोजिकल मोडेलले पर्याप्त रूपमा सम्बोधन गर्न नसकेका समस्यालाई उनको अनुसन्धानले समाधान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
उनले विकास गरेको नयाँ प्रणालीले नदीको बहावको स्थानविशेषअनुसार सटीक अनुमान गर्न तथा उपलब्ध तथ्यांकको प्रभावकारी विश्लेषणमार्फत बाढीको जोखिम पूर्वानुमान गर्न सहयोग पुग्ने जनाइएको छ । उक्त प्रणाली जर्मनीसहित युरोपका विभिन्न देशमा परीक्षण भई प्रमाणित भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपालका लागि समेत डा. श्रेष्ठको अनुसन्धान महत्वपूर्ण हुन सक्ने देखिन्छ । नेपालका जलविद्युत् आयोजना बाढीका कारण निर्माण तथा सञ्चालनमा प्रभावित हुने गरेका छन् । नदीको बहाव र बाढीबारे विश्वसनीय पूर्वसूचना उपलब्ध हुन सके जलविद्युत् आयोजना व्यवस्थापन, पूर्वाधार विकास तथा स्थानीय बासिन्दाको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विशेषगरी जलविद्युत् आयोजना, बाढी जोखिम व्यवस्थापन र स्थानीय समुदायको सुरक्षाका क्षेत्रमा यस्तो प्रविधि उपयोगी हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।








तपाईंको विचार लेख्नुहोस्