बागमती गोल्डकपको विजेताले १० लाख पाउने


हेटौंडा, (नेस) ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा नवौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ८ गतेदेखि हुने भएको छ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा मंसिर १७ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले १० लाख नगद पाउनेछ । यस्तै, उपविजेताले ५ लाख रुपियाँ पाउनेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख १ हजार १ सय रुपियाँ प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्टहरुले जनही २५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजनका ६ वटा क्लब, विदेशी क्लब तथा आयोजक टोलीसहित १० टोलीको सहभागि हुनेछ ।

आफ्नै रंगशालासहित एकेडमी सञ्चालन गर्दै आएको पालिकाले गोल्डकपका लागि ४० लाख बजेट विनियोजन गरेको पालिका अध्यक्ष सर्केश घलानले बताए । प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्बाट १० लाख प्राप्त हुने अनुमान गरिएको छ । दर्शकबाट ८ लाख रुपियाँ संकलन हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल ७२ लाख २५ हजार खर्च हुने आयोजकको अनुमान छ । यसअघि सम्पन्न आठौं संस्करणको बागमती गोल्डकपको उपाधि चित्लाङ फुटबल क्लबले जितेको थियो । प्रतियोगितामा पहिलो सहभागितामै चित्लाङ उपाधि जित्न सफल भएको थियो ।