काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ ।
लगातार दोस्रो पटक फाइनलमा भिड्न लागेका दुवै टोली उपाधि जित्ने लक्ष्यमा छन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी च्याम्पियन बनेको थियो । यसपटक लुम्बिनी उपाधि रक्षा गर्ने र सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ ।
लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । लिग चरणको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो ।
यता, सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक उपाधिविहीन यात्राको अन्त्य गर्ने लक्ष्यमा छ ।
लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा दुवै टोली उपाधिका लागि मैदान उत्रनेछन् ।








तपाईंको विचार लेख्नुहोस्