हिमानी र रिसिका फाइनलमा


काठमाडौं, (नेस) ।

बाघभैरवकी हिमानी श्रेष्ठ र कोसेलीकी रिसिका तामाङ दोश्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगिताको महिला २० केजीमुनितर्फ फाइनलमा प्रवेश गरेका छन् ।

चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा शनिबार भएको सेमिफाइनलमा हिमानीले कोसेलीकी सुहाना तामाङ तथा रिसिकाले शिवपुरी डोजोकी कृष्टि तामाङलाई पराजित गरेका हुन् ।

नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमुनितर्फ बाघभैरवका उत्सव श्रेष्ठ फाइनलमा पुगे । उनले सेमिफाइनलमा बालाजुका सौरव मगरलाई हराए ।

महिला २५ केजीमुनिमा मनमैजुकी एन्जल तामाङ, अरनिकोकी रोजिना राउत, ठैवकी दिलिसा लामा र कोसेलीकी प्रनिषा कार्कीले अन्तिम चारमा स्थान सुरक्षित गरे । सोही स्पर्धाको पुरुषमा मनमैजुका निसान कुँवर, मेरिल्यान्डका आलोकराज ठाकुर, नवशान्तिका मिसन तामाङ र शिवपुरीका प्रकाश तामाङले अन्तिम चारमा स्थान बनाए ।

मित्रपार्क नाय खिं बाजं खल:को सहकार्यमा भइरहेको प्रतियोगिताको महिला एकल कातामा नवशान्तिकी प्रसन्न फुयाँल, भृकुटिकी अंकिता पाण्डे, अरनिकोकी पुनम श्रेष्ठ र मेरिल्यान्डकी एलिना ठकुरी अन्तिम चारमा पुगे । सो स्पर्धाको पुरुषमा विद्यावनका रुविन राई, इन्द्रवतिका सुसन तामाङ, भृकुटि रोहित बस्नेत र नवशान्तिका रोजन ओझाले अन्तिम चारको यात्रा तय गरे ।

यसअघि काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका थिए । सोही अवसरमा अपेक्षा थापामगर, अन्सु गुरुङ, लिना राई, प्रज्ज्वल कार्की, जुनु गुरुङ र विदुषि पोखरेललाई ब्ल्याकवेल्ट पहिलो डानको प्रमाणपत्र प्रदान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा पुरुष/महिलातर्फ समान ११–११ गरी जम्मा २२ स्पर्धामा २ सय २० खेलाडीको सहभागिता रहेको आयोजक संघका उपाध्यक्ष एवं प्रचार प्रसार उपसमितिका संयोजक अच्युतराज उप्रेतीले जनाएका छन् ।