युवा जनशक्ति देशको मुख्य मेरुदण्ड हो । कुनै पनि राष्ट्रको भविष्य कस्तो हुने भन्ने कुरा त्यस देशका युवाको सोच, क्षमता, सिर्जनशीलता, श्रम, इमानदारी र राष्ट्रप्रतिको जिम्मेवारीबोधमा निर्भर हुन्छ । देशलाई कुन दिशातर्फ लैजाने, देशलाई विश्वसामु कसरी चिनाउने, देशको विकासलाई कसरी तीव्र बनाउने र आफ्नो देशलाई विश्वका अब्बल राष्ट्रहरूको पङ्क्तिमा कसरी पुर्याउने भन्ने विषयमा युवा शक्तिको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । देशको सार्वभौमिकता, राष्ट्रियता र सुरक्षाको कवचका रूपमा समेत युवाशक्ति उभिन सक्छ ।
तर यसका लागि राज्य स्वयं जानकार, जिम्मेवार र दूरदर्शी हुनुपर्छ । देशका होनहार युवालाई विदेश पलायन हुन बाध्य बनाउने होइन, उनीहरूको क्षमता र प्रतिभालाई आफ्नै देशमा प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ । युवालाई सम्मान गर्ने, उनीहरूको श्रमको मूल्य बुझ्ने र देश तथा जनताप्रति बफादार बनाउने शिक्षा नीति विद्यालय तहदेखि नै लागू गरिनुपर्छ ।
हामीले युवालाई केवल जागिर खोज्ने जनशक्तिका रूपमा होइन, देश बनाउने शक्तिका रूपमा बुझ्नुपर्छ । विद्यालय र विश्वविद्यालयमा प्रमाणपत्र प्राप्त गर्ने शिक्षा मात्र होइन, जीवन उपयोगी, सीपमूलक, उत्पादनमुखी र गरिखाने शिक्षा आवश्यक छ । विद्यार्थीले पढ्दै गर्दा श्रमको सम्मान सिक्नुपर्छ । आफ्नो गाउँ, समाज, खेतबारी, उद्योग, कलकारखाना र देशप्रतिको जिम्मेवारी बुझ्नुपर्छ । हातले काम गर्नु लाज होइन, श्रम नगर्नु पो राष्ट्रका लागि ठूलो घाटा हो भन्ने संस्कार विकास गर्नुपर्छ ।
युवाले चाहे देशलाई जस्तोसुकै परिस्थितिबाट पनि बचाउन र परिवर्तन गराउन सक्छन् भन्ने ज्वलन्त उदाहरण हामीले गतवर्ष भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनलाई फर्केर हेर्दा देख्न सक्छौँ । घटनाको राजनीतिक मूल्यांकन आ–आफ्नो ठाउँमा होला, तर त्यसले एउटा महत्वपूर्ण सन्देश भने दिएको छ– युवा जागेपछि समाजमा ठूलो परिवर्तन सम्भव हुन्छ । त्यसैले युवाको शक्ति, ऊर्जा र सिर्जनशीलतालाई विध्वंसमा होइन, निर्माणमा लगाउने वातावरण राज्यले बनाउनुपर्छ ।
अब प्रसंग अलिकति बदलौँ । गत भाद्र १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्यायो । रसुवा, धादिङ र नुवाकोटका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण भौतिक संरचना, सडक, पुल, घर, व्यवसाय तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको अवस्था सिर्जना भयो । यस्तो विपत्तिपछि प्रभावित क्षेत्रलाई पुन: जीवन्त बनाउनु राज्यको प्रमुख दायित्व हो । तर राज्यको मात्रै प्रयासले सबै काम छिटो सम्पन्न हुन्छ भन्ने छैन । सरकार, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबैको सामूहिक सहभागिता आवश्यक हुन्छ । त्यसमध्ये पनि युवा जनशक्तिको भूमिका अझ महत्वपूर्ण हुन्छ ।
हामीसँग ठूलो युवाशक्ति छ । कसैसँग निर्माणको सीप छ, कसैसँग विद्युत् र प्राविधिक ज्ञान छ, कसैसँग सडक निर्माणको अनुभव छ, कसैसँग स्वास्थ्यसम्बन्धी ज्ञान छ भने कसैसँग व्यवस्थापन, सञ्चार र स्वयंसेवाको क्षमता छ । यही सीप र क्षमतालाई संगठित गरेर विपत्तिपछि पुनर्निर्माणमा परिचालन गर्न सकिन्छ ।
सरकारले युवालाई श्रम र श्रमदानका लागि विशेष आह्वान गर्नुपर्छ । तर श्रमदान भन्नाले युवालाई नि:शुल्क काममा लगाउने भन्ने अर्थमा बुझिनुहुँदैन । श्रमको सम्मान, सीपको उचित मूल्यांकन र आवश्यक सुरक्षा तथा व्यवस्थापनसहित युवालाई राष्ट्र निर्माणमा सहभागी गराउनुपर्छ । जहाँ आवश्यक छ, त्यहाँ पारिश्रमिकसहित रोजगारी सिर्जना गर्नुपर्छ र जहाँ स्वयंसेवी श्रम आवश्यक छ, त्यहाँ व्यवस्थित श्रमदान अभियान सञ्चालन गर्नुपर्छ ।
भोटेकोशीको बाढीले क्षति पुर्याएका सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था, बस्ती तथा अन्य भौतिक संरचनालाई पुनर्जीवित गर्न युवाको श्रम र सीपलाई उपयोग गर्न सकिन्छ । यसका लागि सरकारले ‘युवा राष्ट्र निर्माण अभियान’ जस्तो विशेष कार्यक्रम सञ्चालन गर्न सक्छ । प्रभावित तीन जिल्लाका युवालाई सीपअनुसार समूहमा विभाजन गरी पुनर्निर्माणमा परिचालन गर्न सकिन्छ ।
यसले दुईवटा महत्वपूर्ण काम एकैपटक गर्न सक्छ । पहिलो, विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्निर्माण हुन्छ । दोस्रो, युवाले आफ्नै देश निर्माण गर्ने प्रत्यक्ष अवसर पाउँछन् । यसरी युवालाई राष्ट्र निर्माणसँग जोड्न सकियो भने उनीहरूमा देशप्रतिको अपनत्व, जिम्मेवारी र गौरव अझ बढ्छ ।
आज ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि विदेश गइरहेका छन् । विदेशमा गएर श्रम गर्नु नराम्रो होइन । तर आफ्नै देशमा काम गर्ने अवसर, सम्मानजनक आम्दानी र भविष्यको सुनिश्चितता नपाएर विदेश जानुपर्ने अवस्था भने चिन्ताको विषय हो । त्यसैले राज्यले युवालाई ‘देश छोड’ होइन, ‘देश बनाऊ’ भन्ने वातावरण सिर्जना गर्नुपर्छ ।
देश निर्माणका लागि युवा चाहिन्छ । खेतबारीमा उत्पादन बढाउन युवा चाहिन्छ । उद्योग खोल्न युवा चाहिन्छ । प्रविधिको विकास गर्न युवा चाहिन्छ । पर्यटनको विकास गर्न युवा चाहिन्छ । पूर्वाधार निर्माण गर्न युवा चाहिन्छ । विपत्तिमा उद्धार र पुनर्निर्माण गर्न युवा चाहिन्छ । देशको सीमा, राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न पनि युवा चाहिन्छ ।
त्यसैले युवालाई भाषणमा मात्र सम्झेर पुग्दैन । राज्यको नीति, बजेट र कार्यक्रममै युवालाई केन्द्रमा राख्नुपर्छ । सीप सिक्ने अवसर, उद्यम गर्ने वातावरण, सस्तो ऋण, बजारको सुनिश्चितता, प्रविधिमा पहुँच र श्रमको सम्मान युवालाई दिनुपर्छ ।
हामीले एउटा कुरा गहिरोसँग बुझ्नुपर्छ– देश कुनै एउटा नेता, एउटा पार्टी वा एउटा सरकारले मात्र बनाउने होइन । देश बनाउने जिम्मेवारी सबै नागरिकको हो । त्यसमा पनि युवा जनशक्ति अग्रपङ्क्तिमा रहनुपर्छ । आज रसुवा, धादिङ र नुवाकोटका क्षतिग्रस्त क्षेत्रलाई पुन: जीवन्त बनाउने अभियानबाट हामीले नयाँ राष्ट्रिय श्रम संस्कृतिको शुरुवात गर्न सक्छौँ । युवाको हातमा सीप छ, शरीरमा श्रम गर्ने शक्ति छ र मनमा देश बनाउने सपना छ । राज्यले त्यसलाई सही दिशा दिन मात्र आवश्यक छ ।
अब युवालाई विदेश जाने लाइनमा मात्र होइन, देश बनाउने लाइनमा उभ्याऔँ । युवाको हातमा रोजगारी दिऔँ, सीप दिऔँ, अवसर दिऔँ र जिम्मेवारी दिऔँ । उनीहरूको श्रमलाई सम्मान गरौँ । युवालाई राष्ट्र निर्माणको मुख्य अभियन्ता बनाऔँ ।
क्षतिग्रस्त तीन जिल्लालाई पुनर्जीवन दिनु आजको आवश्यकता हो । त्यसका लागि सरकारको नेतृत्व, नागरिकको सहभागिता र युवाको श्रम–शक्ति एक ठाउँमा जोडिनुपर्छ । जन–जनले बुझ्नुपर्ने गाँठी कुरा यही हो– युवाशक्ति देशको भविष्य मात्र होइन, वर्तमान निर्माण गर्ने शक्ति पनि हो । युवालाई उत्प्रेरित गरौँ, युवालाई सम्मान गरौँ र युवाको श्रम तथा सीपलाई देश निर्माणमा लगाऔँ । देश बनाउने जिम्मेवारी हाम्रो हो । र, देश निर्माणको अग्रपङ्क्तिमा युवाशक्ति हुनुपर्छ ।











प्रतिक्रिया