सोमपाल जम्दा लोकेशको सानदार ब्याटिङ छायामा

0
Shares

काठमाडौं ।

सोमपाल कामी बलिङ र ब्याटिङमा जमेपछि कर्णाली याक्सले बिहीबार भएको विराटनगर किंग्सविरुद्धको खेलमा ४ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । नेपाल प्रिमियर लिग–३ अन्तर्गत बिहीबार त्रिवि मैदानमा भएको खेलमा कप्तानी पारी खेलेर सोमपालले आफ्नो टोलीलाई जित दिलाएका हुन् ।

सोमपालले बलिङमा ४ विकेट र ब्याटिङमा अर्धशतक प्रहार गरेका हुन् । उनले आफ्नो टोलीलाई जित दिलाउनुका साथै विराटनगरका ओपनर लोकेश बमको सानदार ब्याटिङलाई समेत छायामा पारे ।
लोकेशको ८७ रनको सहयोगमा विराटनगरले १ सय ८६ रन बनाएको थियो । यो जारी प्रतियोगिताकै अहिलेसम्मको व्यक्तिगत र टोलीले बनाएको उच्चतम स्कोर हो । कर्णालीको लागि सोमपालले नटआउट रहँदै ६२ रन बनाए । यस्तै, पवन शर्राफ र गुलशन झाले यो सानदार जितमा महत्वपूर्ण भूमिका खेले ।

५७ रनका लागि पाँचौं विकेट गुमाएपछि समस्यामा परेको कर्णालीलाई लगातार दुई अर्धशतकीय साझेदारी बनेपछि जित सम्भव भएको थियो । छैटौं विकेटका लागि ६६ रनको साझेदारी हुँदा पवनले ३६ रनको योगदान दिएका थिए । उनी आउट भएपछि सातौं विकेटका लागि ६४ रनको साझेदारी बनेको थियो । जसमा नटआउट रहँदै गुलशनले २८ रन बनाएका थिए ।

यो कर्णालीको जारी प्रतियोगितामा लगातार दोस्रो जित हो भने विराटनगरको लगातार दोस्रो हार हो । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध १ सय ३२ रनको असुरक्षित लक्ष्य जोगाएर रोमाञ्चक जित निकालेको थियो । विराटनगरले भने जितको नजिक पुगेर चितवन राइनोजसँग ८ रनले हार बेहोर्न पुगेको थियो ।

यसअघि लोकेसले सानदार ब्याटिङ देखाएर मैदानमा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । उनले सुरुदेखि नै आक्रमक ब्याटिङ गर्दै ५२ बलमै ८७ रन बनाएका थिए । उनले सो रन बनाउन ९ छक्का र ३ चौका प्रहार गरे । कर्णालीको बलिङमा सोमपालले ४ विकेट लिए । उनले लोकेश, रसेल, म्याथ्युज र चरिथ असालन्काको महत्वपूर्ण विकेट लिएका थिए ।

राहुल र अलीको सानदार प्रदर्शन
राहुल यादव र मोइन अलीको सानदार प्रदर्शनमा जनकपुर बोल्ट्सले जारी एनपीएल ३ मा पहिलो जित हासिल गरेको छ । बिहीबार त्रिवि मैदानमा भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो ।

काठमाडौंले निर्धारण गरेको १ सय १६ रनको विजयी लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा हासिल गरेको थियो । टोलीको जितमा इंग्ल्यान्डका अलराउन्डर अलीले सर्वाधिक ५८ रन जोडे । यसपछि सैफ हसनले ४० रन बनाएका थिए ।

दोस्रो विकेट ३७ रनमा क्षति भएपश्चात् यी दुई ब्याटरले नटआउट रहँदै तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । ओपनर तृतराज दास ५ रनमा र मयन यादव ९ रनमा आउट भएका थिए । तृतराजलाई रिपोन मोन्देईले विकेटकिपरद्वारा क्याच आउट गराएका थिए । मयन भने लगातार दोस्रोपटक रनआउटको शिकार भएका थिए ।

कर्णाली याक्सविरुद्ध पहिलो खेलमा जनकपुर १९ रनले हारेको थियो । जनकपुरले कर्णालीसँग जित्ने खेल नै हारेको थियो । उक्त खेलमा जनकपुरले १ सय ३३ रनको सामान्य लक्ष्य पनि हासिल गर्न सकेन । जिम्मी निशमबाहेक अरू खेलाडी टिक्न नसक्दा नै हार भएको थियो ।
यसपटक भने जिम्मीलाई खेलाइएको थिएन । उनको अनुपस्थितिमा अलीले एक इन्ड बलियो गरी सम्हालेका थिए । पहिलो खेलमा निरस ब्याटिङ गरेका उनले यो खेलमा कुनै गल्ती गरेनन् । उनले एक रन दुई रन लिनुका साथै बलरको खराब बलमा चौका–छक्का प्रहार गरेर टोलीको जित सुनिश्चित पारेका थिए । उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

युवा बलर राहुलको घातक बलिङ
त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले जनकपुरका १६ वर्षीय युवा बलर राहुलको सामना गर्न सकेन । उनको घातक बलिङमा खुलेर खेल्न नसक्दा काठमाडौं १ सय १५ रनमै समेटिएको थियो ।

काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीबाहेक अन्य कसैले पनि उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । उनले २९ बलमा ४ चौकाको सहयोगमा ३३ रन बनाएका थिए । काठमाडौंको ब्याटिङ ध्वस्त बनाउन राहुलले ४ विकेट लिएका थिए । उनले ३१ रन खर्चेका थिए ।
राहुलले आफ्नो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका हुन् । उनले काठमाडौंका ओपनर साम हेजलेटलाई १ रनमा आउट गरेका थिए । उनले नै अर्का ओपनर स्मित पटेललाई आउट गरे । पटेलले १३ रन बनाएका थिए ।

यसपछि राहुलले विपक्षीका कप्तान करण र मोहम्मद आदिल आलमलाई पभेलियन फर्काएका थिए । यस्तै, उनले उत्कृष्ट क्याच लिँदै जहाँदाद खानलाई पभेलियन फर्काएका थिए । उनी ट्यालेन्ट हन्टबाट जनकपुरमा अनुबन्ध भएका हुन् ।

९ जना बलर आक्रमणमा
जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले जित निकाल्न भरपुर प्रयास गरेका थिए । मोइन अली र सैफ हसनको जोडी क्रिजमा जमेपछि केसीले आफूसहित ९ जना खेलाडीलाई बलिङको आक्रमणमा ल्याएका थिए । तर, उनको यो रणनीति सफल भएन । यसमा रिपोन मोन्देइलाई मात्र सफलता हात पर्‍यो भने अन्य ८ जना बलर विकेटविहीन बनेका थिए ।