उपकरण हस्तान्तरण मात्र होइन, सदुपयोग पनि गरौँ


नेपालका चार स्वास्थ्य संस्थालाई शल्यक्रियासम्बन्धी व्यावहारिक सीप विकासका उपकरण उपलब्ध गराउने नेप्लिज डक्टर्स एसोसिएसन युके (एनडीए युके) र रोटरी क्लब अफ काष्ठमण्डपको सहकार्य प्रशंसनीय छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटललाई प्रदान गरिएका उपकरणले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा प्रविधिको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । तर, उपकरण प्राप्त गर्नु उपलब्धिको एउटा पाटो मात्रै हो । त्यसको प्रभावकारी प्रयोग, दक्ष जनशक्ति विकास र दीर्घकालीन व्यवस्थापन नै वास्तविक उपलब्धिका आधार हुन् ।

शल्यक्रियाको अभ्यासका लागि प्रयोग हुने इन्डोट्रेनरजस्ता सिमुलेसन उपकरणले चिकित्सकलाई वास्तविक बिरामीमा शल्यक्रिया गर्नुअघि नियन्त्रित वातावरणमा सीप विकास गर्ने अवसर दिन्छन् । यस्ता उपकरणको नियमित अभ्यासले हातको समन्वय, उपकरण सञ्चालन क्षमता र प्राविधिक दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउन सक्छ । यसबाट चिकित्सा शिक्षालाई व्यावहारिक बनाउन र बिरामीको सुरक्षालाई प्राथमिकता दिन मद्दत पुग्छ । विज्ञान र प्रविधिमा भइरहेको तीव्र विकाससँगै नेपाली चिकित्सकलाई पनि आधुनिक प्रविधिमा दक्ष बनाउनु आजको आवश्यकता हो ।

नेपालमा स्वास्थ्य उपकरण खरिद तथा सहयोग हस्तान्तरणका क्रममा एउटा महत्वपूर्ण पक्षलाई प्राथमिकता दिनुपर्छ– उपकरणको आवश्यकता पहिचान र उपयोग सुनिश्चितता । कतिपय अवस्थामा आवश्यकताभन्दा फरक उपकरण खरिद हुने, प्रयोगका लागि दक्ष जनशक्ति नहुने, मर्मत–सम्भारको व्यवस्था नमिल्ने वा प्रयोग विधिको पर्याप्त तालिम नहुँदा उपकरण प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने जोखिम रहन्छ । त्यसैले उपकरण हस्तान्तरणलाई औपचारिक कार्यक्रममा सीमित नगरी त्यसको उपयोग, तालिम, मर्मत–सम्भार र उपलब्धिको नियमित मूल्याङ्कनसँग जोड्नुपर्छ । नेपाल सरकारले स्वास्थ्य संस्थाको वास्तविक आवश्यकता पहिचान गरी उपकरण खरिद, विदेशी सहयोग स्वीकार र वितरण गर्ने स्पष्ट नीति अवलम्बन गर्नुपर्छ ।

उपकरणसँगै त्यसको सञ्चालनसम्बन्धी ज्ञान, सीप, प्राविधिक जनशक्ति र आवश्यक पूर्वाधारको व्यवस्था हुनुपर्छ ।
एनडीए युके र रोटरी क्लब अफ काष्ठमण्डपबीच एक दशकभन्दा लामो समयदेखि हुँदै आएको सहकार्यले गैरआवासीय नेपाली चिकित्सक, सामाजिक संस्था र अन्तर्राष्ट्रिय सञ्जालको सहयोगबाट नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने देखाएको छ । यस्तो सहकार्यलाई आगामी दिनमा वीर अस्पताललगायत अन्य सरकारी अस्पताल, शिक्षण संस्था र दुर्गम क्षेत्रका स्वास्थ्य केन्द्रसम्म विस्तार गर्न सकिन्छ । तर सहयोग उपलब्ध गराउँदा सम्बन्धित संस्थाको आवश्यकता, जनशक्तिको क्षमता र दीर्घकालीन उपयोगितालाई आधार बनाउनुपर्छ ।

नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, आधुनिक चिकित्सा प्रविधिको ज्ञान र सीप विकास तथा उपचारमा नागरिकको सहज पहुँच सुनिश्चित गर्न सरकार, स्वास्थ्य संस्था र सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक छ । नेपाली चिकित्सक पनि विज्ञान र प्रविधिमा दक्ष छन् भन्ने क्षमता व्यवहारमा देखाउन सके नेपालको चिकित्सा क्षेत्रप्रति अन्तर्राष्ट्रिय विश्वास बढ्न सक्छ । उपकरण सहयोगको सफलता कति थान उपकरण प्राप्त भयो भन्नेमा होइन, त्यसबाट कति जनशक्ति दक्ष बन्यो, कति बिरामीले सुरक्षित र गुणस्तरीय सेवा पाए तथा स्वास्थ्य संस्थाको क्षमता कति बढ्यो भन्नेमा मापन हुनुपर्छ । सहयोग गर्ने संस्थाको सद्भावलाई परिणाममुखी बनाउन सरकार र सम्बन्धित स्वास्थ्य संस्थाले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । उपकरणसँगै ज्ञान, सीप र सदुपयोगको संस्कृति विकास गर्न सके मात्रै यस्तो सहयोग नेपालको स्वास्थ्य सेवाका लागि दीर्घकालीन सम्पत्ति बन्न सक्छ ।