दाजुभाइको एकताको कथा


तिहार नजिकिँदै गर्दा दाजुभाइबीचको आत्मीयता र एकताकै भाव समेटिएको फिल्म पाँच पाण्डवको गीत सार्वजनिक गरिएको छ।
आगामी कात्तिक २० गते रिलिजमा आउने तयारीमा रहेको फिल्मको बुधवार दाजु भाइजस्ता हुँदैनन् अरु बोलको गीत सार्वजनिक गरिएको हो। सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द र अर्जुन पोखरेलको संगीत छ।

गीतले दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको महत्वलाई उजागर गरेको छ। गीतको भिडियोमा स्वर्गलोकमा रहेका युधिष्ठिर आप्mना भाइहरू धर्तीलोकमा समस्यामा परेको थाहा पाएपछि उनीहरूको खोजीमा आइपुगेको प्रसंग देखाइएको छ। दाजुभाइबीचको एकतामा रहेको शक्ति र त्यसको अर्थ प्रस्तुत गर्ने गीतले फिल्मको कथावस्तुको भाव बुझ्नसमेत सघाउँछ। पाँच पाण्डव दाजुभाइबीचको सम्बन्धमा आधारित भएकाले गीतलाई फिल्मको मूल कथासँग जोडेर प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियो श्याम तामाङले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। गीतको अन्त्यमा द्रौपदीको भूमिकामा इभा गिरीलाई पनि देखाइएको छ।

वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा दर्शकले डल्बी एटमस साउन्डको पूर्ण अनुभव लिन पाउने निर्देशक निरौलाले बताए। काली रानी फिल्म्स्को ब्यानरमा बनेको फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकारदेखि नयाँ पुस्ताका चर्चित कलाकारसम्म एकसाथ देखिँदैछन्। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा छन्। त्यसैगरी दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले गत वर्ष लाज शरणम् निर्माण गरेका थिए। फिल्मकी निर्मात्री काली रानी श्रेष्ठ हुन्।
फिल्ममा कथा, पटकथा र संवाद सुशील पौडेलको छ। लेखक पौडेलका अनुसार यो फिल्म सोसल ड्रामा विधामा आधारित छ। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ। फिल्मको छायांकन श्याम तामाङले गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीको छ। द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको फिल्ममा गम्भीर विष्ट र विक्रम स्वँ“रको कोरियोग्राफी छ। संगीत अर्जुन पोखरेल, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड म्युजिक (बीजीएम) सुजिल कर्माचार्य, भीएफएक्स पुकार धिमाल, एचओपी रोहित राज गौतम र प्रोडक्सन म्यानेजर विष्णू बुढाथोकीको रहेको छ।