– स्थानीय तहले थाले गृहकार्य
– १५ गतेसम्म पर्यटकलाई उच्च हिमाली र पहाडी क्षेत्रमा नजान अपिल
काठमाडौँँ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँँमा आज साँझ हल्का वर्षा सुरु भएर भोलिदेखि पर्सी शनिवारसम्म भारीवर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले शुक्रवार र शनिवार वागमती, र कोसी प्रदेशको उच्च हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार वागमती प्रदेशको एकदुई स्थानमा अति भारीसम्मको वर्षाको सम्भावना छ भने काठमाडौँँ उपत्यकामा पनि भारीवर्षा हुने सम्भावना छ ।
२४ घण्टाभित्रमा कुनै स्थानमा १० मिलिमिटरसम्म पानी परे हल्का र १० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यमवर्षा भनिन्छ । त्यसैगरी ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारीवर्षा भनिन्छ । १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारीवर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा धेरै पानी परे अति भारीवर्षा भनिने विभागले बताएको छ ।
हाल भारतको आन्ध्र प्रदेश आसपासको तटीयक्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको ‘अर्नव’ चक्रवात कमजोर बन्दै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने भएकाले आगामी शनिवारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गरिएको हो ।
मौसमविद् महर्जनका अनुसार आन्ध्र प्रदेशको समुद्री तटीय क्षेत्र आसपास केन्द्रित रहेको उक्त मौसमी प्रणाली आज दिउँसोसम्ममा पूर्णरूपमा जमिनमा प्रवेश गर्ने क्रममा रहेको र त्यसको आंशिक प्रभाव नेपालमा पनि देखिन थालिसकेको छ ।
उहाँका अनुसार आज यो प्रणाली नेपाल नजिक पर्ने भारतको उत्तरप्रदेश र बिहारको आसपास आइपुग्नेछ । कमजोर अवस्थामा आइपुगे पनि यसको असरले नेपालभर मौसममा व्यापक फेरबदल ल्याउने देखिएको छ ।महाशाखाले विशेष बुलेटि जारी गरेलगत्तै देशैभर उच्च सतर्कता र सावधानी अपनाइएको छ भने मौसमविद्हरुले उक्त दिन अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
वरिष्ठ मौसमविद् एवं त्रिभुवन बिश्वविद्यालय जल तथा मौसमविज्ञान विभागका प्राध्यापक डा.दीपक अर्यालले पनि शुक्रवार उपत्यकामा भारीवर्षाको सम्भावना रहेको जानकारी दिँदै भन्नुभयो–‘काठमाडौँँमा सतर्क रहनुपर्छ । भारीवर्षाले उपत्यकाको खोला धेरै ठुलो हुनसक्छ । खोला किनारमा रहेको बस्ती तत्काल हटाउनुपर्छ ।’
शुक्रवार भारीवर्षा भएर शनिवारबाट कम हँुदै जाने र आइतवारबाट मौसम खुला रहने अनुमान गरिएको छ ।शुक्रवार र शनिवार उपत्यकामा भारीवर्षा हुने सम्भावना देखिएपछि स्थानीयतहले सघन तयारी सुरु गरेको छ । विशेषगरी काठमाडौँँ र ललितपुर महानगरपालिका विपद् व्यवस्थापन विभागले सबै वडा कार्यालयमा पत्राचार गरी समन्वय गर्न निर्देशन दिएको छ । कामपा विपद् व्यवस्थापन विभागप्रमुख अनिरुद्र नेपालले विपद् व्यवस्थापन न्युनीकरणको लागि पूर्व तयारी भैरहेको जानकारी दिनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चक्रवात ‘अर्नब’को प्रभावले कात्तिक १३ र १४ गते भारीवर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारीवर्षा हुन सक्ने जनाएको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसमविज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार ‘अर्नव’को प्रभाव यही कात्तिक १३ गते शुक्रवारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ
सम्भावित विपद्का घटनाबाट जोगिन उच्चपहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमितरूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।
आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने, गराउने, सवारी आवागमन बन्द गर्नुपूर्व सोको अग्रिम जानकारी सर्वसाधारणसम्म पुर्याउने व्यवस्था मिलाउन सबै निकायलाई आग्रह गरेको छ ।
प्राधिकरणले सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षा र हिमपातले जवजीवनमा व्यापक असर पार्ने सम्भावना बढेपछि प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्न आग्रह गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आइतवार बिहानसम्मका लागि चेतावनी नक्सा जारी गरेको छ । जसअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा रेड अलर्ट जारी गरेको छ ।
यसैगरी कोशीको पहाड, मधेस, बागमती र गण्डकीको पहाड तथा तराई, लुम्बिनीको पहाड र पूर्वी तराई तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा अरेन्ज अलर्ट मार्फत सतर्क रहन र मौसमी सूचनाबारे अद्यावधिक हुन सुझाइएको छ । बाँकी भूभागहरूमा पहेँलो रङ अङ्कित गरी सचेत रहन आग्रह गरेको छ ।
यसैबीच पर्यटन विभागले कात्तिक आज बिहीवारदेखि देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारीवर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ ।मौसमविज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीवर्षा हुन सक्ने सम्भावना छ । वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान छ ।
प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ ।
खुम्बु,मनाङलगायतका हिमालीक्षेत्रमा तथा काठमाडौँँ र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ ।
शुक्रवार कोशी,मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान,कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरैस्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारीवर्षा र हिमपात सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारीवर्षा र हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
शनिवार देशभर अधिकांश बादल लाग्नेछ । कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान,कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा हिमपातको सम्भावना छ ।
कोशी,मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारीवर्षा हिमपात सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारीवर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।











प्रतिक्रिया