काठमाडौँ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रश्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ ।
धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै उहाँले ट्रमा सेन्टर निर्माणको लागी टेन्डर प्रक्रिया पूरा भइसकेको बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयबाट आवश्यक तयारी पुरा गरेर पूर्वाधार विकास मन्त्रालयमा फाईल पुगिसकेको जानकारी दिनुभयो ।
उहाँले ट्रमा सेन्टर निर्माणको शिलान्यास छिट्टै गर्ने पनि बताउनुभयो । सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउने तथा उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रो टेन्डर नै परिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट साइन भएर अगाडि पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ । बहुवर्षीय भइसकेको छ, त्यही भएर यो कम्प्लिसनतिर जाँदैछ । एक्ज्याक्ट शिलान्यासको डेट त भन्न गाह्रो हुन्छ । तर हुन्छ, चाँडै नै हुन्छ । यहीँ बन्छ ।’
मन्त्री मेहताले आइतवार धनुषाको ढल्केवरस्थित प्रश्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्नुभएको हो । ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो ।
मिथिला नगरपालिका–७ स्थित प्रश्तावित निर्माणस्थलका लागि चार बिघा जग्गा प्राप्ति समेत भइसकेको छ । यहाँका स्थानियले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अगाडी बढाउन माग गर्दै आएका छन् ।











प्रतिक्रिया