अस्थायी टावर बनाएर दाना–खुर्कोट प्रसारणलाइन सञ्चालनमा


म्याग्दी ।

कालीगण्डकी नदीको बाढी र कटानले क्षति पुर्‍याएको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइन मर्मतपछि सञ्चालनमा आएको छ।

क्यानडाको प्रविधिमा आधारित अस्थायी टावर निर्माण गरी शनिबार राति साढे १० बजे विद्युत् आपूर्ति सुचारु गरिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र वडा नं. ६ धिरच्याङमा तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजना प्रभावित भएका थिए। प्रसारणलाइन अवरुद्ध हुँदा १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन।

नेपाल विद्युत् प्राधिकरण र जलविद्युत् आयोजनाका प्राविधिक जनशक्तिको संयुक्त प्रयासमा २० दिनभित्रै प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो। अब क्षतिग्रस्त टावरको स्थायी पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइने प्राधिकरणले जनाएको छ।